
बिहिवार , कार्तिक ३, २०७९
भैरहवा, ३ कार्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क जैविक सार्वजनिक शौचालय संचालनमा आएको छ । शौचालयको निर्माण सम्पन्न गरेर उपभोक्ता समितीले नगरपालिका कार्यालयलाई हसान्तरण गरेपछि शौचालय संचालनमा आएको हो ।
बिहिवार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बुद्धचोक स्थित सार्वजनिक शौचालयमा लगाइएको ताल्चा खोलेर शौचालय संचालनमा ल्याए । आयोजित कार्यक्रममा नगर प्रमुख खानले जैविक सार्वजनिक शौचालय संचालनले स्वदेशी र विदेशी नागरिकलाई सहज हुनुका साथै नगर स्वच्छ र सफा रहनेमा विश्वास व्यक्त गरे ।
उनले शौचालयको सुरक्षा र संरक्षणमा नगरपालिकाको कार्यालयका साथै सरोकारवालाहरुले पनि ध्यान दिन आग्रह गरे । ‘शौचालय संचालनमा आएको छ, यस भित्रको कमी कमजोरी हामी पुरा गर्दै जान्छौँ’ उनले भने, ‘यो हामी सबैको सम्पति हो, यसको सुरक्षा र संरक्षण गर्ने हामी सबैको दायित्व पनि हो ।’
सार्वजनिक शौचालयलाई आफ्नै घर सरहको शौचालयको सम्झिनु पर्ने उनको भनाई थियो । उनले शौचालय संचालनले मात्रै नभई कर्मचारी र जनप्रतिनिधीहरुलाई शौचालयको प्रयोग गरेर यसको अनुगमन÷निरीक्षण समेत गरेर देखिने समस्या समयमै समाधान गर्न निर्देशन दिए ।
नगरको बुद्धचोकमा दुई वटा, सिद्धार्थ राजमार्गदेखि आवारोड जाने मार्ग, देवकोटा चोक, आँखा अस्पताल क्षेत्र र पर्यटकीय गेट (डण्डा) मा एक–एक वटा गरी ६ वटा जैविक सार्वजनिक संचालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए । यी शौचालयहरु उपभोक्ता समिती मार्फत निर्माण गरिएको हो ।
उनका अनुसार जसमा नगरपालिका कार्यालयको ८५ र उपभोक्ता समितीको १५ प्रतिशत लगानीमा शौचालय निर्माण सम्पन्न भएको हो । ३८ लाख बढी रुपैयाा शौचालय निर्माण भएको हो ।
संचालनमा आएको शौचालय आधुनिक किसिमको सुविधा सम्पन्न छ । शौचालयमा २ हजार लिटरको जैविक डाइजेस्टर सेफ्टी ट्यांकी बनाइएको छ । उक्त ट्यांकीमा एनिरोबिक नामक जीवाणु झोल पदार्थ बनाएर ६ सय ६० लिटर राखिएको छ । ट्यांकीको आयु लम्ब्याउनका लागि उक्त जीवाणु राखिएको नगरपालिका कार्यालयको योजना महाशाखा प्रमुख जीवन अर्यालले बताए ।
शौचालय माथि २ सय ८० लिटरको पानी ट्यांकी समेत हुनेछ भने पानी सोस्नका लागि सोककिटको समेत व्यवस्थापन गरिएको छ । ब्यासिन, फ्लस, विजुली, धारा सहित सुविधा सम्पन्न शौचालय निर्माणले नगरवासी, पर्यटक लगायत लभान्वित हुने नगरपालिकाले विश्वास लिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij