
बिहिवार , मंसिर २५, २०७७
बुटवल, २५ मंसिर ।
आज १० डिसेम्बर, अर्थात ७२ औं विश्व मानव अधिकार दिवस । युद्ध निषेध : शान्ति विशेष अभियान अन्तर्गत आणविक अस्त्र चाहिँदैन, शान्ति मास्न पाइँदैन भन्ने मुल नाराका साथ संसारभर यो दिवस मनाइँदैछ । मानव अधिकार तथा शान्ति समाजले पनि आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मानव अधिकार दिवस मनाएको छ । ‘विश्वमा आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन् ।’ भन्ने मुल नारासहित विश्वका आणविक होडमा रहेका देशहरुलाई दबाब दिने उद्देश्यले फरक स्वरुपमा यो वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो ।
शान्ति समाजद्वारा काठमाडौंमा ९ वटा दुतावास अगाडि एकसाथ धर्ना र प्रदर्शन
आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै २५ वर्षदेखि अभियानरत मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाण्डौ र ललितपुरस्थित ९ वटा दुतावास अगाडि एकसाथ धर्ना प्रदर्शन गरिएको छ । ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा बिहीबार मध्यान्ह् १२ बजेदेखि आधा घण्टा काठमाण्डौस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाली दुतावास ललितपुर अगाडि एकसाथ प्रदर्शन गरिएको हो ।
धर्नामा आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु र विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो, सबै आणविक अस्त्र नष्ट गर, आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर, आणविक अस्त्र चाहिदैन शान्ति मास्न पाइँदैन, आणविक कहरबाट कसले बचाउने ? आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन्, हामी आणविक अस्त्ररहित विश्व चाहन्छौ लगाएतका नारा लेखिएका व्यानरहरु प्रदर्शन गरिएको थियो ।
त्यसै गरी सहभागिहरुले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गरी अरबौको मन जित्न आणविक अस्त्र भएका राष्ट्रहरुलाई आग्रह गरेका थिए भने युद्ध निषेध : शान्ति विशेष, युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ, युद्ध रोक शान्तिलाई बढावा देउ, लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।
प्रदर्शन पश्चातः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादीमिर पुटिन, ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई विश्व सहमतिको राष्ट्रसंघीय आणविक अस्त्र निषेध सन्धिलाई शिघ्र हस्ताक्षर/अनुमोदन गर्न र आणविक अस्त्रको पूर्ण उन्मुलनका लागि योगदान गर्न आग्रहसहित शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र उपरोक्त दुतावासका वरिष्ठ अधिकारीहरुलाई शान्ति समाजका प्रतिनिधिहरुले हस्तान्तरण गरिएको थियो ।
साथै चीनियाँ राष्ट्रपति सी जिनपिङ, फ्रेन्च राष्ट्रपति इम्मान्युएल म्याक्रोन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको ज्ञापनपत्र पनि सम्बन्धित दुतावासका अधिकारीहरुले हुलाक वा इमेलबाट पठाउन भनिएको हुँदा सोही अनुरुप पठाइएको शान्ति समाजले जनाएको छ ।
अमेरिकी दुतावास अगाडिको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सदस्य गीता तिमल्सिना, सदस्य उमा गौतम, मायाँ भट्टराई, दुर्गा राना, चीनियाँ दुतावास अगाडि सभापति उत्तम पुडासैनी, शान्ति समाज काभ्रे शाखा सभापति सुमित्रा बञ्जारा, उपसभापति हेमा मानन्धर, रुसी दुतावास अगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय विभागीय संयोजक विष्णु भुषाल, सदस्य कमला घिमिरे, ब्रिटिस दुतावास अगाडि संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय सचिव रत्नलक्ष्मी श्रेष्ठ, केन्द्रीय सदस्य नम्रता खरेलको सहभागिता रहेको थियो ।
यस्तै फ्रेन्च दुतावास अगाडि सल्लाहकार होमकान्त चौलागाई, प्रकृति, इजरायली दुतावास अगाडि संस्थापक महासचिव सुवास ढकाल, केन्द्रीय सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य सरस्वती ढकाल, पाकिस्तानी दुतावास अगाडि कोषाध्यक्ष रामकृष्ण बराल, काठमाण्डौ शाखा सचिव ईश्वर पुडासैनी, संस्कृति हुमागाई, भारतीय दुतावास अगाडि काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, शान्ति समाजका पूर्व महासचिव कुमार राज सुवेदी, सदस्य ईश्वरा लिङ्देन र उत्तर कोरियाली दुतावास अगाडि ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, सन्जोग चाम्लिङ राई, विनु अधिकारीसहित ४ सय भन्दा बढी शान्तिवादीहरुको सहभागिता थियो ।
शान्ति समाज रुपन्देहीद्वारा बुटवलको महेन्द्रपार्कमा प्रदर्शन
यसै क्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले कोभिड–१९ सतर्कताका लागि तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्दै बुटवलमा प्ले कार्डहरु प्रदर्शन गरेको छ । बुटवलको पुष्पलाल पार्कमा ४५ मिनेट प्लेकार्ड प्रदर्शन कार्यक्रम गरिएको समाजका सभापति डिपी खनालले बताए ।
कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले युद्ध रोकौ, शान्ति प्रवद्र्घन गरौँ, युद्धमा सबैको क्षय हुन्छ ः शान्तिमा सबैको जय हुन्छ, युद्ध निषेध : शान्ति विशेष, आणविक अस्त्र चाहिँदैन, शान्ति मास्न पाइँदैन लगायतका प्लेकार्ड सहित सडकमा प्रदर्शन गरेका थिए ।
सो अवसरमा बोल्दै शान्ति समाज रुपन्देहीका पूर्व सभापति तथा केन्द्रिय अनुशासन बिभागका सदस्य लालहरी पाण्डेले युद्ध गरेर कोही पनि अघि बढ्न नसक्ने भन्दै आणविक अस्त्र त्याग्न शक्तिशाली मुलुकहरुलाइ आग्रह गरे । कार्यक्रममा सभापति डिपि खनाल, उपसभापति कृष्ण चौहान, सह–सचिव कपिल ज्ञवाली, जमुना पौडेल लगायतले मानव अधिकारका सन्दर्भमा राज्य र नागरिक समाजले खेल्नुपर्ने भुमिकाका बारेमा चर्चा गरेका थिए ।
पछिल्लो चरणमा सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघ आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धि ग्रहण भई २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको हुँदा त्यसको ९० दिनपछि अर्थात २०२१ को जनवरी २२ बाट यो सन्धि लागू हुन गइरहेको छ । यो सन्धीले आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन/निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ ।
यो सन्धि आणविक अस्त्रको उन्मूलनतर्फ उन्मुख भएको हुँदा विश्व शान्तिका लागि कोशेढुंगा मानिएको छ ।
८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो सन्धिमा नेपालले हस्ताक्षर गरेता पनि हालसम्म अनुमोदन गरेको छैन भने आणविक अस्त्र भण्डार भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले अझैसम्म हस्ताक्षर/अनुमोदन गरेका छैनन् र यो सन्धि अनुमोदनका लागि अनिच्छुक देखिन्छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij