२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भैरहवामा शनिबार चित्रांश कप–२०७९ हुँदै

शुक्रवार , कार्तिक ४, २०७९

भैरहवा, ४ कात्तिक ।
भैरहवामा चित्रांश कप–२०७९ (क्रिकेट प्रतियोगिता) शनिबार (भोलि) हुने भएको छ । चित्रांश युथ क्लबको आयोजना तथा चित्रगुप्त युवा सेवा समिति भैरहवाको संयोजनमा भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा उक्त प्रतियोगिता हुने भएको हो । आयोजकले शुक्रबार सिद्धार्थनगर–६ स्थित चित्रगुप्त मन्दिरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएका छन् ।

चित्रांश परिवारबीच आपसी भाइचारा स्थापित गर्ने उद्देश्यले परिवारभित्रका चारवटा टीमबीच प्रतियोगिता हुने लागेको चित्रगुप्त युवा सेवा समितिका कार्यवाहक अध्यक्ष दीपक मल्लिकले बताए ।

भैरहवाको पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा हुने तेस्रो संस्करणको चित्रांश कप–२०७९ प्रतियोगिता नकआउट क्रिकेट टुर्नामेन्टको आधारमा तीनवटा खेल हुने चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभले बताए । उनले विगतदेखि आयोजना गरिदै आएको क्रिकेट प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको बताए । रुपन्देही क्रिकेट संघको समन्वयमा प्रतियोगिता हुने उनले जानकारी दिए ।

बिहान ९ बजेदेखि सुरु हुने प्रतियोगितामा कर्ण फाइल (के एफ) लायन्स, कायस्थ टाइटन, चित्रांश सुपर किंग्स र सोनालिका वारियर्स गरी चारवटा टीमबाट ५२ जना खेलाडीको सहभागीता रहने कार्यक्रम संयोजक शुभम कर्णले बताए ।

पहिलो वर्ष विवेक ब्लास्टर्स र दोस्रो वर्ष चित्रांश सुपर किंग्सले उपाधि जित्दै रनिङ शिल्ड प्राप्त गरेका थिए । परिवारका सदस्य र सहयोगी संस्थाहरुकोे लगानीमा करिब दुई लाखको खर्चमा प्रतियोगिता हुन लागेको छ । चित्रांश युवा सेवा समितिका सचिव विवेकानन्द मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।