तिलोत्तमा, २० असार ।
रोटरी क्लब अफ मणिग्रामको चौथो पदस्थापन समारोह तथा सेमरा बजारमा निर्मित सार्वजनिक शौचालय हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
रुपन्देहीको सबैभन्दा पुरानो हाटबजारको रुपमा रहेको सेमरा बजारमा सार्वजनिक शौचालय जीर्ण हुँदा सर्वसाधारणले निकै सास्ती खेपेका थिए । रोटरी क्लब मणिग्रामले रोटरी डिष्ट्रिक र तिलोत्तमा नगरपालिकाको सहयोगमा ६ लाख ४२ हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरेको थियो ।
शौचालयको चावी तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र रोटरी क्लबका वर्ष २०१९/२० का अध्यक्ष अच्युत पन्तले संयुक्त रुपमा बजार व्यवस्थापन समितिका अध्यक्ष किशोर पन्थीलाई हस्तान्तरण गरे ।
समारोहमा क्लबको वर्ष २०२०/२१ लगि निर्वाचित अध्यक्ष कृष्ण प्रसाद नेपालसहित पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गराउनुका साथै शपथ ग्रहण गराइएको थियो ।
कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाको विकासका लागि हरेक संघ–संस्थासँग साझेदारी गर्ने प्रतिवद्धता जनाए । उनले क्लबले तिलोत्तमालाई केन्द्रीत गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेकोमा खुशी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न आव्हान गरे । उनले नगरको सर्वाङ्गिण विकासका लागि संघ–संस्थाहरुलाई सधै सहयोग गर्ने पनि जनाए ।
रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ का असिस्टेण्ट गभर्नर धु्रव धितालले छोटो समयमा रोटरी क्लब अफ मणिग्रामले स्वार्थ भन्दा माथि सेवा भन्ने मूल मन्त्र अनुसार सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताए ।
क्लबका नवनिर्वाचित अध्यक्ष नेपालले सबैको सहयोग र सहकार्यमा एक वर्ष भित्र सामुदायिक विद्यालयलाई सहयोग गर्ने, रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर, सरसफाई तथा वृक्षारोपण, सिपमूलक तथा आयमूलक तालिम लगायतका कार्यक्रम सहयोग गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
वर्ष २०१९/२० का अध्यक्ष अच्युत पन्तले कोरोना महामारीका कारण केही कार्यक्रमहरु गर्न नसकिए पनि सार्वजनिक शौचालय पूरा गर्न पाएकोमा खुशी व्यक्त गरे । क्लबका चार्टर्ड प्रेसिडेण्ट राजुदेवी खनालले रोटरी क्लब अफ मणिग्रामलाई स्थापित गर्न आफ्नै भवन निर्माणको आवश्यकतामा जोड दिंदै नगरपालिकाले जग्गा उपलब्ध गराएमा भवन निर्माण गर्न एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरिन् ।
कार्यक्रममा रोटरी क्लबअफ बुटवल साउथका चार्टर्ड प्रेसिडेण्ट रामचन्द्र आचार्य, रोटरी डिष्ट्रिक रिजन ५ का तालिम संयोजक लक्ष्मण ज्ञवाली, क्लबका इलेक्ट प्रेसिडण्ट केशव न्यौपाने, प्रेसिडेण्ट नोमिनी दुर्गा प्रसाद अर्याल, बजार व्यवस्थापन समितिका अध्यक्ष किशोर पन्थी, क्लबका सचिव अरुण पाण्डे लगायतले बोल्दै क्लबलाई जीवन्त राख्न सदस्यहरुको सक्रियताको खाँचो औल्याएका थिए ।
कार्यक्रममा वर्ष २०१९÷२० का अध्यक्ष पन्तले आफ्नो कार्यकालमा सहयोग पु¥याउने क्लबका पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोले सम्मान गरेका थिए । चार बर्ष अघि स्थापना भएको रोटरी क्लब अफ मणिग्राममा हाल २३ जना सदस्य छन् ।