
आइतवार , मंसिर २८, २०७७
काठमाण्डौ, २८ मंसिर ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीबीच एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि (इसीएफ) कार्यक्रमको तयारी लगायत अर्थतन्त्रका अन्य विविध विषयमा आइतबार भिडियो कन्फ्रेन्समार्फत छलफल भएको छ ।
छलफलमा अर्थमन्त्री पौडेलले प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि (इसीएफ) कार्यक्रमको तयारीका लागि नेपाल र कोषका पदाधिकारीहरुबाट संयुक्त रुपमा भइरहेको कामप्रति खुशी व्यक्त गरे । उनले कोभिड–१९ महामारीको कठिन परिस्थितिमा श्रोत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्च महिनामा कोषले र्यापिड क्रेडिट फ्यासिलिटि (आरसीएफ)मार्फत नेपाललाई गरेको सहयोग तथा सि.सि.आर.टि. अन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा आभार प्रकट गरे ।
अर्थमन्त्री र कोषका पदाधिकारीबीच कोभिड–१९ ले बढी प्रभाव पारेको क्षेत्रहरु र सो लगायत समग्र आर्थिक पुनरुत्थानको गति थप तीव्र बनाउने लगायतका विषयमा छलफल भएको छ । सो क्रममा यस आर्थिक वर्षको बजेटले मुख्य रुपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचार लगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न प्रस्तावित कार्यक्रमले सघाउ पुर्याउने धारणा राखे ।
अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सक्रियता तथा नेतृत्वमा (इसीएफ) का सदस्य मुलुकहरुबाट प्राप्त भएको ऋणको सावाँ तथा ब्याज स्थगन सम्बन्धी सुविधाका लागि माननीय अर्थमन्त्रीले धन्यवाद दिए । उनले न्यून आय भएका मुलुकहरुलाई थप कुनै अतिरिक्त भार वेगर सापेक्षिक रुपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनुपर्ने बताए ।
छलफलमा कोषका पदाधिकारीहरुले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमको तयारीको पछिल्लो प्रगतिको बारेमा जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अन्तर्राष्ट्रिय मुद्रा कोषको निरन्तर सहयोग हुने विश्वास दिलाए । त्यस्तै उनीहरुले आर्थिक पुनरुत्थानको लागि कोषले नेपालसंग थप सहकार्य गर्दै जाने समेत बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij