
सोमवार , मंसिर २९, २०७७
काठमाडौं, २९ मंसिर ।
विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई अख्तियार दुरुपयोग गरेको सम्बन्धी मुद्धामा थुनामा राख्न आदेश गरेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गामा नक्कली मोही र नक्कली जग्गाधनी खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा पारेर हिनामिना गरेको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि बस्न्यातलाई जेल चलान गरिएको हो ।
अभियुक्त बस्न्यातले आवास मन्त्रालयको सचिव रहँदा बालुवाटारको अर्बौं रुपैयाँ मूल्यको सरकारी जग्गा व्यक्तिको बनाउन प्रमुख भूमिका बहन गरेको अभियोगमा जेल चलान गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । प्रवक्ता पाण्डेयका अनुसार अभियुक्त बस्न्यातसंग आइतबार बिशेष अदालतमा बयान लिइएको थियो । अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान तथा नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा राखेर मुद्दाको सुनुवाइ गर्ने आदेश दिएको प्रवक्ता पाण्डेले बताए ।
अख्तियार दुरुपयोगकै प्रमुख रहिसकेका अभियुक्त बस्न्यातलाई अख्तियार दुरुपयोगको मुद्धामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा राखिएको छ । उक्त मुद्दामा १ सय ७५ जना प्रतिवादी रहेकामा प्रारम्भिक बयान लिइएकामा बस्न्यात ९७ औं भएको अदालतका प्रवक्ता पाण्डेले बताए । अदालतको पालो अनुसार आगामी डेढ महिनामा बस्न्यातको साधारण तारेखको पालो आउन सक्ने पनि प्रवक्ता पाण्डेले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij