२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

वडास्तरीय पुरुष भलिबलको फाइनलमा वडा नम्बर २ र ४ भिड्ने

सोमवार , मंसिर २९, २०७७

तिलोत्तमा, २९ मंसिर । 
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी प्रथम तिलोत्तमा नगरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत उपाधिका लागि वडा नम्बर २ र ४ बीच प्रतिष्पर्धा हुने भएको छ ।  सोमबार भएको सेमिफाइनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर १ लाई ३–शुन्यको सोझो सेटमा र दोस्रो सेमिफाइनलमा वडा नम्बर २ ले ८ लाई ३–शुन्यको सोझो सेमा हराउँदै फाइनलको यात्रा तय गरेका हुन् । त्यस्तै तेस्रो स्थानका लागि भने वडा नम्बर १ र ८ बीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल प्रतिष्पर्धा मंगलबार दिउँसो २ बजेदेखि र तेस्रो स्थानको लागि मंगलबार बिहान साढे ११ बजेबाट खेल हुनेछ ।

यसअघि सोमबार भएको खेलमा वडा नम्बर १ ले वडा नम्बर ६ लाई ३–शुन्यको सोझो सेटमा र वडा नम्बर २ ले ११ लाई पनि ३–शुन्यको सोझो सेटमा हराएको थियो । यसअघि आइतबार भएका खेलमा वडा नम्बर २ ले १० लाई ३–शुन्यको सोझो सेटमा हराएको थियो भने आइतबारको दोस्रो खेलमा वडा नम्बर ४ ले ९ लाई ३–शुन्यको सोझो सेटमा हराएको थियो । त्यस्तै अर्को खेलमा वडा नम्बर ८ ले वडा नम्बर ७ लाई ३–१ को सेटमा हराएको थियो ।

नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । वडा नं. ८ ले संयोजन गरेको प्रतियोगिता लाङ्घाली युवा परिवार र ज्योती जागृति आमा समूहको चार नम्बरमा सञ्चालन भएको हो । प्रतियोगितामा विजेताले ५० हजार पुरस्कार राशीसहित गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए ।   

त्यसैगरी दोस्रो र तेस्रो हुने टिमले क्रमश ः ३० हजार तथा २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने संयोजक गुरुङले बताए । प्रतियोगितापछि नगरस्तरीय भलिबल टिम छनौट गरिने दिपक खनालले जानकारी दिए ।

यसै बीच खेलकुद समितिले यस आर्थिक वर्षमा अन्य खेलकूद गतिविधिहरु समेत हुने जानकारी गराएको छ । वैशाखसम्म विभिन्न ९ वटा प्रतियोगिता  गर्ने तयारी समितिले गरेको हो । मंसिरमा भलिबल प्रतियोगिता आयोजना गरिएकोमा पुस महिनामा व्याडमिन्टन तथा विद्यालय स्तरीय छात्रछात्रा भलिबल र माघ महिनामा उपमेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ ।

त्यसै गरी माघ महिनामैं मेयर कप रनिङ्ग शिल्ड फुटबल, फागुनमा विद्यालय स्तरीय फुटबल तथा क्रिकेट आयोजना हुने बताउँदै संयोजक गुरुङले फागुन महिनामै ग्रास रुट स्तरीय २ दिने फुटबल तालिम सञ्चालन हुने जानकारी दिए ।

त्यस्तै वैशाख महिनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी समितिको छ । वर्षभरी सञ्चालन गरिने प्रतियोगिताले नगरको खेल क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने उनले बताए । स्वास्थ्यका लागि खेलकूद : राष्ट्रका लागि खेलकूद तथा सबैका लागि खेलकूद भन्ने मूल नाराका साथ प्रतियोगिताहरु आयोजना गर्न लागिएको हो ।