images

शुक्रवार, बैशाख ७ गते २०८१

म चुनावै पिच्छे पार्टी फेर्दै हिड्ने मान्छे होइन : महेन्द्र यादव

म चुनावै पिच्छे पार्टी फेर्दै हिड्ने मान्छे होइन : महेन्द्र यादव

images
images
images
मंगलवार, कार्तिक २९ २०७९
मंगलवार, कार्तिक २९ २०७९
  • म चुनावै पिच्छे पार्टी फेर्दै हिड्ने मान्छे होइन : महेन्द्र यादव

    महेन्द्र यादव यस क्षेत्रका बासिन्दाको लागि नौलो नाम होइन । राजनीतिक अधिकारकालागि विगत लामो समयदेखि सक्रिय रहँदै आएका यादव जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य हुन् । उनी रुपन्देही जिल्ला अध्यक्ष हुँदा स्थानीय तहको निर्वाचनमा जसपा (तत्कालिन संघीय समाजवादी फोरम, नेपाल) ले रुपन्देहीको रोहिणी, कोटहीमाई, गैडहवा र मर्चवारी गाउँपालिका गरी चारवटा स्थानीय तहमा जीत हासिल गरेको थियो । उनले जिल्लाको नेतृत्व सम्हाल्दा जिल्लामै दोस्रो स्थान हासिल गर्न सफल भएको भन्दै यादवको प्रशंसा हुने गरेको छ ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा –एमाले) र जसपाको संयुक्त तालमेलमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभा सदस्यको उमेदवार हुनुहुन्छ । यसै क्षेत्रबाट यसअघिको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा समेत चुनाव लडेपनि पराजित भएका यादवले यसपटक भने विजयको माला लगाउने अठोटमा छन् । जसपाको छाता चुनाव चिन्ह लिएका प्रदेशसभा सदस्यका उम्मेदवार यादवसँग निर्वाचनको सन्दर्भमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

    images
    images
    images

    तीन दलबीच भएको तालमेल अनुसार चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ, अब मतदानको दिन नजिकिदै छ । चुनावी माहौल कस्तो छ ?

    चुनावी माहौल अत्यन्तै राम्रो छ । जनताले माया, स्नेह दिनुभएको छ । यति लामो संघर्ष गरेर आएको, पार्टीको निष्ठाबान सिपाहीको नाताले राम्रो रेन्पोन्स पाएको छु । तीन दलीय तालमेल पनि भएकाले नेकपा –एमाले) र राप्रपाको समेत साथ छ । त्यसैले जनताले मलाई अत्याधिक मतले जिताउनुहुनेछ ।
    तपाईंको प्रतिष्पर्धा कोसँग हुँदैछ यो चुनावमा?

    मेरो प्रतिष्पर्धी नै देखेको छैन मैले । म चुनावै पिच्छे पार्टी फेर्दै हिड्ने मान्छे होइन । जनता र पार्टीलाई धोका दिएको छैन । यहाँ कस्ता उमेदवार छन् भन्ने तपाईंहरुलाई थाहै छ । जसले हरेक चुनावमा टिकटका लागि पार्टी फेरिरहन्छन्, जितेपछि हुन्छ हुन्छ भन्छन् काम केही गर्दैनन् । झुट बोल्छन्, त्यस्तासँग मेरो प्रतिष्पर्धा हुने कुरै भएन । म तेब्बर बढी मत ल्याएर विजयी हुन्छु ।

    तेब्बर बढी मत ल्याएर जित्ने आधार के हो त ?

    २०७४ सालको संसदीय निर्वाचन या गएको स्थानीय निर्वाचनलाई आधार बनाएर हेरौं न । २०७४ सालमा पहिलो एमाले, दोस्रो राप्रपा र तेस्रो जसपा भएको थियो । अहिले हामी तीन दल एउटै मोर्चामा छौं । स्थानीय निर्वाचनको मत परिणामले पनि त्यही देखाउँछ । यही नै मैले निर्वाचन जित्ने आधार हो । हामी माथि जनताको विश्वास छ ।

    गृहमन्त्रीले नेतृत्व गरेको गठबन्धनसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । त्यति सजिलो होला र तपाईंहरुलाई ?

    हेर्नुस्, सत्ता र शक्तिले होइन, चुनाव जित्ने जनताको मतले हो । गृहमन्त्री र उहाँले बोकेका प्रदेश सभा सदस्यका उम्मेदवारको बारेमा सबैलाई घाम जस्तै छर्लङ्ग छ । जनताले मूल्यांकन गरिरहेका छन् । जनताले झुटा आश्वासन होइन, ठोस काम खोजेका छन् । जनता न्यायाधिश हुन् । हाम्रो तीन दलीय तालमेलले जनतालाई झनै उत्साह थपिदिएको छ । मैले अहिलेसम्म राजनीतिक बेइमानी पनि गरेको छैन मैले चुनाव जितिसकेको छु, केवल घोषणा हुन मात्र बाँकी छ ।

    चुनाव जित्नु भो भने यो क्षेत्रका लागि के के गर्नुहुन्छ त ?

    हामीले तीन दलकाे तर्फबाट संयुक्त घोषणापत्र बनाएका छौं । त्यसैलाई कार्यान्वनय गर्ने हो । म थोरै बोल्ने धेरै गर्ने मान्छे हो । गाउँगाउँ जाने, जनताका आवश्यकता र समस्याका बिषयमा छलफल गर्ने तथा तिनलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने मेरो काम हुनेछ । पहिलो कुरा त भ्रष्टाचारले मुलुकलाई समस्यामा पारेको छ । भ्रष्टाचार नियन्त्रण आजको प्रमुख आवश्यकता हो । साथसाथै जनताले भोगिरहेका गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य सम्बन्धि समस्या, सडक, नाल, विद्युतीकरणका समस्या समाधान गर्न मेरो प्राथमिकता हुनेछ ।

    घरदैलोमा जाँदा के कस्ता समस्या देख्नुभयो त ?

    पहिलो समस्या त भ्रष्टाचार नै हो । दोश्रो जनतालाई ढाँट्ने, प्रतिवद्धता बिर्सने, धोकादिने, पार्टी फेरिरहने नेतृत्वबाट जनता आजित छन् । विकास निर्माणलाई पनि उच्च प्राथमिकता दिनुपर्नेछ । जनताले चुनाव जित्ने, मन्त्री हुने आफ्ना समस्या प्रति वेवास्ता गर्ने भनेर आक्रोश पोखिरहेका छन् । अरुबाट पाएका पीडा मलाई सुनाउँछन् । जनतासँग ग्याप नहुने गरी काम गर्नुपर्ने सन्देश पाएको छु ।

    मतदातालाई के भन्नु छ ?

    मेरो समग्र क्षेत्रबासीलाई विनम्र अनुरोध छ कि म किसानको छोरा हुँ । म इमान्दार छु, मैले फट्याईं गरेको छैन । एकपटक अवसर पाएँ भने जनताको सेवामा खरो रुपमा उत्रने प्रतिवद्धता ब्यक्त गर्दछु । यदी चुनाव जितेर पनि केही गर्न सकिन भने म फेरि फेरि भोट माग्न आउँदैन, यो मेरो प्रतिवद्धता हो ।

    भन्न मन लागेको तर छुटेको कुरा केही छ ?

    यो चुनावमा हामी तीनदलले तालमेल गरेका छौं । यहाँ मात्र होइन, देशका अन्य भागमा पनि मिलेर जाने गरी तालमेल गरेका हौं । यो तालमेललाई सफल पार्न हामी तीनै दलका कार्यकर्ता समर्थक इमान्दार भएर लाग्नुपर्छ । हामी देशैभरी सफल हुन्छौं । विचलित नभइ देशलाई निकास दिन कटिबद्ध भएर लागौं । रुपन्देही क्षेत्र नम्बर ३ को हकमा प्रतिनिधि सभा सदस्यमा हलो चिन्हमा दीपकबोहरालाई र प्रदेश सभातर्फ १ मा छाता चिन्हमा म महेन्द्र यादवलाई तथा २ मा सुर्य चिन्हमा तुल्सी प्रसाद चौधरीलाई मतदान गरी विजयी गराउन म समग्र जनतालाई आग्रह गर्दछु ।
     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij