२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

१८ वर्षपछि लालपुर्जा पाउँदा अर्घाखाँचीका नागरिक खुशी

मंगलवार , मंसिर ३०, २०७७

अर्घाखाँची, ३० मंसिर ।
सशस्त्र द्वन्द्वको समयमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आक्रमण हुँदा लाल पुर्जा जलेर नष्ट भएपछि जिल्ला नै नक्साबिहीन बनेको थियो । जसका कारण यहाँका नागरिकको जग्गा सम्बन्धी सामान्य काममा पनि समस्या हुँदै आएको थियो । केही वर्ष यता विशेष नापी कार्यालयले पुर्जा वितरण सुरु गर्न थालेपछि यहाँका नागरिकमा खुशी छाएको छ । 

१८ वर्ष पछि लालपुर्जा पाउँदा अर्घाखाँचीका नागरिक खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाम सन्धिखर्क आक्रमण हुँदा जलेर लाल पुर्जा नष्ट भएपछि जिल्ला नै नक्साबिहीन बनेको थियो । स्थानीयले लालपुर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर ऋण लिन पनि सकेका थिएनन् भने अन्य जग्गाको कारोबारमा पनि निकै समस्या भएको थियो ।

अहिले विशेष नापी कार्यालय अर्घाखाँचीद्वारा डिजिटल प्रविधिबाट नाप नक्सा पाउँदा निकै खुशी छौं, छत्रदेव गाउँपालिकाका स्थानीय हरिप्रसाद खनालले भने । 

सशस्त्र द्वन्द्वको समयमा सदरमुकाम सन्धिखर्क आक्रमण गर्दा नेतृत्व गर्ने पनि मै अहिले जलेका लाल पुर्जा वितरण गर्नै म नै पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भने ।

देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यलयको टोलीले पुनः नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको अर्घाखाँचीमा हाल तीन नगरपालिका तीन गाउँपालिका रहेको जिल्ला मा ६१ वटा वडा कार्यालय रहेका छन । ६१ वडामध्ये हालसम्म ४५ वटा वडा कार्यालयमा नाप नक्सा सम्पन्न गरिएको छ भने २९ वटा वडामा लालपुर्जा वितरण कार्य सम्पन्न गरिएको विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम बहादुर रानाले बताए ।

जिल्लाभर हाल ७ वटा टोलीबाट नाप नक्सा भइरहेको छ । यो आर्थिक वर्षमा थप १२ वटा वडामा नाप नक्सा गर्ने योजना समेत रहेको बताइएको छ । हालसम्म सन्धिखर्क नगरपालिकाका ५, शितगंगा नगरपालिकाका ८, भूमिकास्थान नगरपालिका ४, पाणिनी गाउँपालिकाका ७, छत्रदेव गाउँपालिका ५, मालारानी गाउँपालिकाका २ वटा वडामा लाल पुर्जा वितरण गर्ने कार्यसम्पन्न भएको बताइएको छ । जिल्लाभर २०७९ सम्ममा नाप जाँच तथा लाल पुर्जा वितरण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भएको समेत बताइएको छ ।