
मंगलवार , मंसिर ३०, २०७७
बुटवल, ३० मंसिर ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकारले जनता समक्ष गरेको प्रतिवद्धता पुरा गरेरै छाड्ने बताएका छन् । नेकपाले गत आम निर्वाचनमा जारी गरेको घोषणापत्रमा उल्लेख भएका काम सरकारले पाँच वर्षको अवधिमा पुरा गरेरै छाड्ने दावी गर्दै मन्त्री पौडेलले सरकार मुलुकको समग्र्र विकास र समृद्धिमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
संघीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा निर्माण हुन गइरहेको विज्ञान विषयको विशिष्टिकृत भवनको शिलान्यास गर्दै मन्त्री पौडेलले नेकपाको अस्तित्व र पार्टी एकतामा चुनौती दिन खोज्नेहरु आफै परास्त भएर जाने बताए । पार्टीमा बिग्रहको कल्पना गरेर भविष्य देख्नेहरु समाप्त भएर जाने उल्लेख गर्दै उनले वर्तमान सरकारको र पार्टी एकताको दुवै कुराको विकल्प नरहेको समेत दावी गरे ।
कुल २० करोड रुपैयाँको लागतमा आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको सो विज्ञान विषयको विशिष्टिकृत ४ तले भवनमा ३५ कोठा रहने र पुर्ण छात्रावासको व्यवस्था हुनेछ । यसका लागि संघीय सरकारको तर्फबाट ८ करोड र लुम्बिनी प्रदेश सरकारको तर्फ ८ करोड बजेट बिनियोजन गरिएको छ । बाँकी ४ करोड स्थानीय तह र अन्य श्रोतबाट जुटाउने योजना रहेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेशसभा सदस्य दधिराम न्यौपाने, बुटवल उपमनगरपालिकाका प्रमुख शिवराज सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, पूर्व अध्यक्ष टंक प्रसाद पराजुली, प्राचार्य गोविन्द ज्ञवाली, उपप्राचार्य केदारनाथ ज्ञवाली लगायतले यस क्षेत्रको शैक्षिक बिकासमा कान्ति माविले पुर्याएको योगदान प्रशंसायोग्य रहेको बताउँदै आगामी दिनमा कान्तिले खेल्नुपर्ने भुमिकाका बारेमा चर्चा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij