२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोरोनाका कारण धरासायी यातायात व्यवसाय तंग्रिदै, छोेटो र मध्यम दु्रीमा ठिकै, लामो दुरीमा अझै खाली

बुधवार , पौष १, २०७७

बुटवल, १ पुष । कोरोना कहरका कारण सर्वाधिक ध्वस्त भएको क्षेत्र मध्ये एक यातायात ब्यबसाय क्षेत्र पछिल्लो समय बिस्तारै तंग्रिदै आएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण खासगरि यात्रुबहाक यातायात ब्यबसाय क्षेत्र झण्डै आधा बर्ष नै पुर्ण प्रभावित भएको थियो । 

सरकारले मास्क, पन्जा, स्यानिटाईजरको प्रयोग, भौतिक तथा सामाजिक दुरी लगाएतका जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संचालन गर्ने निर्णय गरेपछि पछिल्लो समय बिस्तारै मानिसहरुको चहलपहल बढ्न थालेको छ । महिनौसम्म कोरोना सर्छ कि भनेर यात्रुबहाक सवारी साधनमा चढ्नै नखोज्ने यात्रुहरु पनि बिस्तारै सतर्कता र सजगता अपनाउदै यात्रुबहाक साधनहरु प्रयोग गर्न थालेका छन् । 

बुटवलदेखि पश्चिम सालझण्डी, बाँणगंगा, चनौटा, कृष्णनगरसम्मको छोटो र मध्यम दुरीका यात्रुबहाक सवारी साधनमा ६० देखि ८० प्रतिशतसम्म यात्रुहरु रहने गरेको यातायात ब्यबसायीहरु बताउछन् । बुटवलबाट छुट्दा लगभग ८० प्रतिशत सिट भरिने भएपनि सालझण्डिदेखि पश्चिमतर्फ ६० प्रतिशत भन्दा कम यात्रु बोकेर हिड्नु पर्ने बाध्यता रहेको ब्यबसायी शोभाखर भण्डारीको भनाई छ । 

उता बुटवलदेखि पुर्व बर्दघाटसम्मको अवस्था पनि उस्तै छ । बर्दघाटसम्म झण्डै ७५ प्रतिशत सिट भरिने गरेको भएपनि दाउन्ने पुर्वतर्फ गैंडाकोट नारायणगढसम्म पुग्दा भने ५० प्रतिशत भन्दा कम यात्रुहरु रहने गरेको ब्यबसायीहरु बताउछन् । बुटवलबाट छुट्ने क्रममा लगभग सिट भरिएजस्तो देखिने गरेको भएपनि बर्दघाट पुग्दा आधामा झर्ने गरेको भनाई यातायात ब्यबसायी रामप्रसाद भट्टराईको छ । 

यता भैरहवा सुनौलीको सडकमा चल्ने बसले पनि प्रयाप्त यात्रुहरु पाउन नसकेको गुनासो चालक तथा मजदुरहरुको छ । कोरोना कहरका कारण मानिसहरु निजि तथा रिजर्व गरिएका गाडीहरुमा चढ्न रुचि राख्ने गरेका कारण सार्वजनिक यातायातका साधनहरुमा यात्रुहरुको उपस्थिती निकै कम रहेको बस संचालकहरुको छ । अधिकांशले निजि तथा रिजर्व गरिएका सवारी साधनमा यात्रा गर्दा बढि सुरक्षित हुने ठानेर बढि प्रयोग गर्न थालेकोले सार्वजनिक यात्रुबहाक बसप्रति आकर्षण घटेको यातायात संचालक गोपाल पौडेल बताउछन् ।  

उता पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, स्याङ्गजा, पोखरा, बाग्लुङ्गसम्म संचालन हुने ठुला यात्रुबहाक बसहरु पनि अझै भरिन नसकेको अर्का संचालक चेतनारायण बेलबासे बताउछन् । बेलबासे भन्छन—सरकारले यात्रा भरसक नगर, गर्नै परे पुर्णरुपमा स्वास्थ्यका मापदण्ड पुरा गरेर मात्र यात्रा गर भन्छ । अनि मानिस कहाँ निस्कन्छ, अहिले त अति जरुरी काम परेका मानिस निजि र रिजर्व गरेर हिड्न नसक्ने अवस्थाका मान्छे मात्र बस चढ्छन् । अझै डर र त्रास यथावत रहेका कारण यात्रुहरु पुर्णरुपले नआएको बेलबासेको धारणा छ । 

यद्यपी यातायात ब्यबसाय बिशेषगरि यात्रुबहाक बस, मिनिबस, माईक्रोबस लगाएतमा यात्रुहरु चढ्न थालेका छन । बिगतमा केही महिना निकै कष्टप्रद अवस्था रहेको भएपनि बिस्तारै बैंकको ऋण र किस्ता बुझाउन थालेको ब्यबसायी बताउछन् । यातायात ब्यबसायहरु भन्छन् —अझै पुर्णरुपले तंग्रिएका छैनौं तर हामी आशाबादी छौं । छोटो र मध्यम दुरीमा ठिकै छ । लामो दुरीमा अझै बस खाली खाली हिड्नुपर्ने अवस्था रहेको उनिहरु बताउछन् । 

सरकारले यातायात ब्यबसायीहरुलाई राहत प्रदान गर्ने खालको कार्यक्रम नल्याएकोमा उनिहरुको गुनासो छ । नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको यातायात ब्यबसायलाई सरकारले उपेक्षा गरेको भन्दै यातायात क्षेत्रका अगुवाहरुले चिन्ता ब्यक्त गर्दै आईरहेका छन ।