२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बेलायतमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या एक हप्तामै झण्डै डेढ लाख 

बिहिवार , पौष २, २०७७

काडमाडौं, २ पुस । 
कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने विश्वकै पहिलो मुलुक बेलायतमा एक हप्ताको अवधिमा एक लाख ३७ हजार भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् । कोरोना संक्रमणको उच्च दर र उच्च जोखिममा रहेको बेलायतमा गत हप्ताको मंगलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाएर कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो । 

बेलायत सरकारले फाइजर बायोएनटेकको खोप आपत्कालीन प्रयोगका लागि स्वीकृति दिए लगत्तै खोप कार्यक्रम सुरु गरिएको हो । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको खोप कार्यक्रम उत्साहजनक रूपमा अगाडि बढिरहेको बताउँदै यसलाई राम्रो सुरुवातको रूपमा लिन आग्रह गरेका छन् । बेलायतले ४ करोड डोज खोप माग गरिसकेको छ । सो खोप बेलायतका दुई करोड मानिसलाई पुग्ने छ । खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनु पर्ने खोप निर्माताहरूको सिफारिस छ । 

पहिलो चरणमा आठ लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउने बेलायतको योजना रहेको छ । बेलायतमा सबैभन्दा बढी प्राथमिकता ८० वर्ष माथिका ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीहरूलाई दिइएको छ भने अन्यलाई प्राथमिकता निर्धारण गरेर दिइने भएको छ । विश्वमै महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसविरुद्धको खोप पहिलो पटक मै प्रयोग गर्न पाएकोमा बेलायती नागरिकहरुले खुशी व्यक्त गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।