२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

झरना र सिद्धार्थ उपाधिका लागि भिड्ने

शुक्रवार , पौष ३, २०७७

बुटवल, ३ पुस । 
रुपन्देहीमा जारी प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ को उपाधिका लागि झरना स्पोर्टिङ क्लब कुन्जलापुर र सिद्धार्थ युवा क्लब, चपरहट्टीबीच प्रतिष्पर्धा हुने भएको छ । शुक्रबार भएको दोस्रो सेमीफाइनल खेलमा सिद्धार्थले आयोजक सौभाग्य युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । 

सिद्धेश्वर खेल मैदानमा भएको खेलको निर्धारित समयमा सरोज क्षेत्रीले छैटौ मिनेटमा गोल गर्दै सिद्धार्थलाई अग्रता दिलाएका थिए । बुटवलकै युवा खेलाडीहरुको टिम रहेको सिद्धार्थले निकै स्तरीय खेल पस्केको थियो । सिद्धार्थका विश्वास थापाले २३ औ मिनेटमा विपक्षी टिमका डिफेन्डरलाई छकाउँदै गोल थपेका थिए ।  

आयोजक सौभाग्यले खेलको ५४ औ मिनेटमा गोलको अवसर पाएको थियो । खेलको ५४ औं मिनेटमा सिद्धार्थका शंकर राईले विपक्षी टिमको डिबक्स बाहिर दुवै हातले बल रोकेपछि रातो कार्ड पाउदै मैदान छोडेका थिए । सोही फ्रिकिकलाई आयोजकका टिम क्याप्टेन यामु रानाले जाली चुमाए । खेलमा सिद्धार्थका अनुप थापा म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।

शनिबार पत्रकार र आयोजक सौभाग्य युवा क्लबका पदाधिकारीकाबीचमा मैत्रीपूर्ण खेल हुने खेल संयोजक चक्र खड्काले बताए । यसैबीच स्वर्गीय प्रचण्ड थैव अक्षय कोष स्थापनाका लागी सौभाग्य क्लबका निर्वतमान अध्यक्ष तथा खेलप्रेमी भुपेन्द्र क्षेत्री (हरि)ले ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।