२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भैरहवामा मनाइयो आप्रवासी दिवस

शुक्रवार , पौष ३, २०७७

भैरहवा, ३ पुस ।
सीप र विप्रेषणको सही सदुपयोग गरौं, आप्रवासी कामदारको सम्मान गरौं भन्ने नारासहित २१ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस शुक्रबार भैरहवामा पनि मनाइएको छ । 

आप्रवासी कामदार र स्थानीय तह न्यायिक समिति संयोजकबीच आप्रवासी सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो । 

सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा सामी परियोजनाको समन्वय र सहकार्यमा भएको कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक सीता पन्थ भण्डारीले परियोजनाले गरेका कामका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् । 

कार्यक्रममा वैदेशिक रोजगारले सिर्जना गरेका समस्या र चुनौतीका बारेमा सहभागीले आ–आफना भनाइहरु राखेका थिए । विदेशबाट काम गरेर फर्केकाहरुको कथा व्यथा विलौना पनि उनीहरुले सो कार्यक्रममा व्यक्त गरेका थिए । 

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरी, मायादेवी गाउँपालिका उपाध्यक्ष तारादेवी यादव, सम्मरीमाई गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका सिंह शाही, सैनामैना नगरपालिका उपप्रमुख विना राना लगायतले बोलेका थिए ।
सिद्धार्थनगर नगरपालिका न्यायिक समिति सदस्य उमेश थापाको स्वागत तथा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।