
शनिवार , मंसिर २४, २०७९
भैरहवा, २४ मंसिर ।
भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको उपाधि शान्ति नमूना माध्यमिक विद्यालय, मणिग्रामले जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजित फाइनलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवीलाई १ रनले पराजित गर्दै शान्ति नमूनाले उपाधि हात पारेको हो ।
उपाधिसँगै उसले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको लुम्बिनी शिक्षा निकेतनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । टस जितेर पहिला ब्याटिङ गरेको शान्ति नमूनाले उपाधि जित्दा उसका ब्याट्सम्यान स्वस्तिक पराजुलीले ३९ बलमा ४ चौकाको मद्दतले ३८ रनको योगदान दिए । शान्तिका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक बनाउन सकेनन् । शान्ति नमूना १ बल बाँकी छदै अलआउट हुँदा ९२ रन बनाउन सफल भएको थियो । अतिरिक्त रन २५ आएको थियो । बलिङमा लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिबले ३ तथा सब्रे आलम र अब्दुल नदिम शेखले समान एक–एक विकेट पाए ।
जीतका लागि ९३ रनको लक्ष्य पाएको लुम्बिनी शिक्षा निकेतनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९१ रनमात्र बनाई १ रनले पराजय भोग्यो । अन्तिम बलमा जितका लागी ३ रन चाहिएकोमा १ रन मात्र बनायो । लुम्बिनीका लागि अमन यादवले २९ र सन्दिप लोधले २७ रन बनाए । शान्ति नमूनाका आसुतोष पाण्डेले २ तथा रोशन खनाल, स्वस्तिक पराजुली र सागर भण्डारीले समान एक–एक विकेट लिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी हुँदै शान्ति नमूनाका स्वस्तिक पराजुलीले ५ हजार रुपैयाँ प्राप्त गरे । पराजुलीले नै उत्कृष्ट ब्याट्सम्यानको पुरस्कार जित्दै २ हजार ५ सय रुपैयाँ पाए । यस्तै, उनने प्लेयर अफ द फाइनलको उपाधि समेत जिते । त्यसैगरी शान्ति नमूनाकै आशुतोष पाण्डेले उत्कृष्ट बलरको पुरस्कार पाए । उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा काशी नोबल एकेडेमी, भैरहवा अनुशासित टीम घोषित भयो ।
विजेता तथा उपविजेता विद्यालयका खेलाडीलाई रुपन्देही क्षेत्र नम्बर ३ (१) का नवनिर्वाचित प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, उद्योगपति एवं रुपन्देही क्रिकेट संघका सल्लाहकार ऋषिकेश अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, भन्सार एजेण्ट महासंघ नेपालका निवर्तमान अध्यक्ष डा.शान्त कुमार शर्मा, मुख्य प्रायोजक संस्था पर्वत ज्वेलर्सका प्रबन्ध निर्देशक विमल सेन्चुरी, रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङ, कोषाध्यक्ष निरज प्रताप खाँण लगायतले पदक, प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा रुपन्देहीका सामुदायिक तथा निजी गरी १३ विद्यालयको सहभागिता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij