images

शुक्रवार, चैत्र १६ गते २०८०

राप्ती प्राविधिक शिक्षालयकै भवनमा ६ मन्त्रालय रहने

राप्ती प्राविधिक शिक्षालयकै भवनमा ६ मन्त्रालय रहने

images
images
images
आइतवार, मंसिर २५ २०७९
आइतवार, मंसिर २५ २०७९
  • राप्ती प्राविधिक शिक्षालयकै भवनमा ६ मन्त्रालय रहने

    बुटवल, २५ मंसिर  । लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ ।

    images
    images
    images

    संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ ।साविकको राप्ती प्राविधिक शिक्षालय भित्रै संसद भवन, मुख्यमन्त्री कार्यालय सहित ६ वटा मन्त्रालय रहनेछन् । बाँकी मन्त्रालयलाई परिसर बाहिर व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।राजधानी कार्यान्वयन प्रक्रिया तीव्र गति हुँदा मन्त्रालयको व्यवस्थापनको कामसमेत धमाधम भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

    ‘एकै थलोभित्र सबै मन्त्रालय स्थापना गर्ने योजना हो । हामीसँग भएका मन्त्रालयहरुमध्ये आधा जति यही राख्न सकिन्छ । बाँकी मन्त्रालयहरु बाहिर सरकारी भवनमा राख्ने योजना छ,’ प्रवक्ता शर्माले भने, ‘सबै मन्त्रालय एकै ठाउँमा भएमा सेवा प्रवाहमा सहजता आउँछ । त्यसका लागि हामीले ध्यान दिएका छौ ।’साविकको शिक्षालय परिसर भित्र प्रदेशसभा भवन पनि छ । जहाँ प्रदेशका ८७ जना प्रदेशसभा सदस्यले बैठकमा भाग लिनेछन् । अहिले प्रदेशसभा भवनको तयारी अन्तिम चरणमा छ । दोस्रो कार्यकालको पहिलो बैठक यहीं राख्ने योजना सरकारको छ ।

    यस्तै साविक राप्ती प्राविधिक शिक्षालयले प्रयोग गरेका संरचना मर्मत गरेर मन्त्रालयहरु स्थापना गर्ने तयारी अघि बढेको छ । जसअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय व्यवस्थापन गर्ने काम सकिएको छ भने बाँकी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय एकै परिसरभित्र स्थापना गर्न अहिले भवन मर्मतको काम चलिरहेको हो । बाँकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि भवन स्टिमेट गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले जानकारी दिए । राजधानीसँग जोडिएका पूर्वाधार तयार पार्ने काम भइरहेको छ ।

    ‘हामीलाई प्राप्त भएको जिम्मेवारी अनुसार मुख्यमन्त्री कार्यालय तयार भइसक्यो । बाँकी मन्त्रालयको भवन मर्मतको काम चलिरहेको छ,’ इञ्जिनियर केसीले भने, ‘मुख्यमन्त्री कार्यालयमा सेवा सञ्चालन हुने बेला बाँकी मन्त्रालय पनि तयार हुनेछन् ।’तालिम हललाई मुख्यमन्त्री कार्यालय, हेल्थ डिपार्टमेन्ट भवनलाई आर्थिक मामिला तथा सहकारी मन्त्रालय, साइन्स ल्यावलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय बनाइएको छ ।

    नेपाल सरकार मातहतमा रहेको राप्ती प्राविधिक शिक्षालय प्रदेश सरकारको स्वामित्वमा आएको छ । शिक्षालयलाई गोवरडिहास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।‘यो प्रदेशको स्वामित्वमा रहेको संरचना र जमिन हो । यसलाई प्रदेश सरकारले प्रशासनिक केन्द्र बनाउने निर्णय गरे अनुसार यहाँ काम भइरहेको छ,’ सरकारका प्रवक्ता शर्माले भने, ‘अहिले मुकाममा रहेका मन्त्रालयहरु यहाँ आउनेछन् ।’

    पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय यसअघि नै यहाँ स्थापना भइसकेको छ । स्वास्थ्य मन्त्रालय राप्ती गाउँपालिका–५ सिसहनियामा छ । यो परिसरभन्दा बाहिर रहेको मन्त्रालयमा स्वास्थ्य मन्त्रालय पर्छ ।उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकूद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको लागि पूर्वाधार आवश्यक छ ।

    प्रदेश सरकारले मन्त्रालयहरुको संख्या धेरै भएकाले गाभ्ने योजना समेत बनाएको स्रोतले बताएको छ । ‘मन्त्रालयहरु धेरै छन् । मन्त्रालयहरु गाभ्ने योजना पनि हुनसक्ने बताइएको छ । ‘महत्वपूर्ण मन्त्रालय यही परिसरभित्र रहनेछन् । नयाँ सरकार बन्ने बेलामा पनि यसले अर्थ राख्छ ।’राप्ती प्राविधिक शिक्षालयभित्रको १८ विगाह जग्गामा साना ठूला गरेर ४० वटा भवन छन् । ती भवनलाई मर्मत गरी प्रयोगयोग्य बनाउने काम भइरहेको छ । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij