२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भैरहवामा वडाप्रमुख क्रिकेट प्रतियोगिता, उपाधि उद्योगपुरीलाई

आइतवार , मंसिर २५, २०७९

भैरहवा, २५ मंसिर । 
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ ले वडास्तरीय प्रथम वडा प्रमुख क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । वडास्तरबाट नै क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको सिद्धार्थनगर वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए । 

शनिबार र आइतबार (दुई दिन) भएको प्रतियोगिता अन्तर्गत उद्योगपुरी क्रिकेट क्लब र हयात क्लब दोगहराबीच आइतबार भएको फाइनल खेलमा उद्योगपुरीले हयातलाई ६२ रनले पराजित गरेको छ । 

सिद्धार्थनगर–४ स्थित उद्योगपुरी (सुगरमिल)मा भएको खेलमा सुरुमा ब्याटिङ गरेको उद्योगपुरीले निर्धारित १४ ओभरको खेलमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । उसका लागि सन्दिप बनियाले सर्वाधिक ३२ रन बनाए । त्यस्तै सुनिल चौधरीले २५ रन र दिनेश चौधरीले १४ रन बनाए । बलिङतर्फ हयातका मजिव एक्लैले ६ विकेट लिएका थिए । 

१२४ रनको लक्ष्यसहित मैदान छिरेको हयातका सफिक अलिबाहेक अन्य खेलाडीले रन जोड्न सकेनन । हयात निर्धारित १४ ओभर पनि खेल्न सकेन । सबै विकेट गुमाएको हतयातका लागि सफिकले २८ रन र शिवपुजन बनियाले १२ रन बनाए । हयातलाइ बलिङतर्फ उद्योगपुरीका बैजनाथ बनियाले ५ विकेट लिए । त्यस्तै दिनेश चौधरीले २ र रामशरण ठाकुरले १ विकेट लिए । 

प्रतियोगितामा विजेता भएको उद्योगपुरीले नगद ११ हजारसहित ट्रफी तथा दोस्रो भएको हयातले ५ हजार १ सय प्रदान गरिएको सिद्धार्थनगर–४ का वडा सदस्य हरि बहादुर के.सी.ले बताए । 

लगान ए, लगान बी, भिक्षु क्लब, स्टाक टोल, दोगहरा जुनियर गरी प्रतियोगितामा वडा नम्बर ४ भित्रकै ७ टीमले सहभागिता जनाएको वडाअध्यक्ष यादवले जानकारी दिए । दोस्रो कार्यकालका लागि वडाअध्यक्षमा निर्वाचित यादवले खेलकुदको विकासका लागि आफू र वडा कार्यालय परिवार लागिपर्ने बताए । उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि हामी लागिपरेका छौं ।’