२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

टिकटक बनाउन खोज्दा पुलबाट खसेर युवक गम्भिर घाइते

आइतवार , पौष ५, २०७७

दाङ, ५ पुस ।
बबई नदीको झुलुङ्गे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा त्यहाँबाट खसेर एक युवक गम्भिर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षिय रमेश थापा बबई गाउँपालिका वडा नम्बर ५ पुरन्धारा झरना नजिकैको झुलुङ्गे पुलबाट लडेर गम्भिर घाइते भएका हुन् ।

घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव बहादुर सिंहले शनिबार दिउँसो सवा २ बजेतिर टिकटक बनाउन भन्दै पुलमा झुण्डिएका थापा लडेर गम्भिर घाइते भएपछि उनका साथीहरुले नै उद्दार गरी अस्पताल ल्याएको जानकारी दिए । 
तुलसीपुरमा उपचार सम्भव नभएपछि शनिबार बेलुका सवा ६ बजेतिर घाइते थापालाई कोहलपुर रेफर गरिएको थियो । 

शनिबार रमाइलो गर्ने भन्दै २५/२६ जना साथीहरु मिलेर पर्यटकीय स्थल पुरन्धारा झरनामा पिकनिक खान गएको समयमा थापा टिकटक बनाउन भन्दै बबई नदीमा निर्मित झुलुङ्गे पुलको सपोट तारमा झुण्डिएको सयममा त्यहींबाट खसेका थिए । थापालाई टाउको, अनुहार, छातीमा चोट लागेको प्रहरीले बताएको छ ।