images

शनिवार, बैशाख ८ गते २०८१

‘कृषिको व्यवसायीकरणका लागि मेला–महोत्सवको भूमिका महत्वपूर्ण’

‘कृषिको व्यवसायीकरणका लागि मेला–महोत्सवको भूमिका महत्वपूर्ण’

images
images
images
बिहिवार, मंसिर २९ २०७९
बिहिवार, मंसिर २९ २०७९
  • ‘कृषिको व्यवसायीकरणका लागि मेला–महोत्सवको भूमिका महत्वपूर्ण’


    भैरहवा, २९ मंसिर ।
    कृषिको व्यवसायीकरणका लागि मेला–महोत्सवको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । कृषकले उत्पादन गरेका वस्तुले मेला महोत्सवमार्फत बजार पाउने भएकाले मेला–महोत्सवलाई निरन्तरता दिनुपर्ने उनीहरुको भनाइ छ ।

    images
    images
    images

    भैरहवामा सञ्चालित आठौं राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) अन्तर्गत बिहीबार मेला सचिवालयमा आयोजना गरिएको कृषिको व्यवसायीकरण विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले कृषिको विकासका लागि एक्लो प्रयासले मात्र सम्भव नहुने भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ मूल समारोह समितिको आयोजना तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले मेला महोत्सव आयोजना गर्दा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । उनले स्थानीय सरकारले कृषिसम्बन्धी धेरै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । उनले भने, ‘बेलाबेलामा अनुगमन पनि गर्नुपर्छ, यसले उपभोक्तामाझ सचेतना फैलाउन मद्दत गर्छ । ’ कृषिलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्ने विषयमा आगामी दिनमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने उनले बताए ।

    संघका कार्यसमिति सदस्य तथा महोत्सवका कृषि संयोजक अर्जुन कार्कीले कृषिमा सरकारले धेरै अनुदान दिए पनि किसानसमक्ष अनुदान पुग्न नसकेको गुनासो आइरहेको बताए । उनले खुल्ला सीमाका कारण भारतबाट निर्वाध रुपमा तरकारी, फलफूल तथा अन्य कृषि सामग्रीका कारण नेपाली कृषक मर्कामा पुगेको बताए । उनले भने, ‘महोत्सवमा कृषिलाई प्राथमिकता दिएका छौं, यहाँ रहेका स्टलमा विभिन्न जिल्लामा उत्पादित वस्तु छन् ।’ 

    संघका कार्यसमिति सदस्य गोपाल भण्डारीले भारत र नेपालमा उत्पादन हुने वस्तुहरुको मूल्यमा किन धेरै फरक भन्दै प्रश्न गरे ।

    कृषि ज्ञान केन्द्र, रुपन्देहीका सूचना अधिकारी अनिल बनियाले मेला महोत्सवमार्फत कृषकले उत्पादन गरेका वस्तुले बजार पाउने र यसले कृषकले उत्साहित बनाउने बताए । उनले भने, ‘महोत्सवले कृषिलाई स्थान दिएको छ, आगामी दिनमा पनि महोत्सव आयोजना गर्नुपर्छ । ’उनले गत वर्ष रुपन्देहीमा स्थापना भएको कृषि ज्ञान केन्द्रले कृषकलाई आवश्यक प्राविधिक सेवा र अनुदान दिदै आएको बताए । उनले किसान र कर्मचारीले मात्र चाहेर अनुदान दिन नसकिने र यसका लागि कार्यविधि अनुसार नै कार्यालय अगाडि बढेको जानकारी दिए । सूचना अधिकारी बनियाले गत वर्ष ५ करोड र यस वर्ष ८ करोड अनुदान वितरण गरिएको बताए । उनले भने,‘ कहीकतै अनुदान दुरुपयोग भए जानकारी गराउनुहोस् । ’ उनले कोभिड महामारीपछि युवाहरु कृषितर्फ आकर्षित भइरहेको बताए । उनले भारतबाट आयात कम भए स्वदेशी उत्पादनले राम्रो बजार पाउने बताए । उनले दैनिक १०–१५ जना युवा कृषि ज्ञान केन्द्रमा आउने गरेको बताए । उनले युवाहरु ड्रागन फ्रुट, तरकारी, फूल खेतीतर्फ उत्साहित भएको बताए ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, रुपन्देहीका मत्स्य विज्ञ अनुराग आचार्यले परियोजनाले जिल्लाका ८ वटा पालिकाका ४४ वटा वडामा कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनले सियारी गाउँपालिका माछाको हब भएको बताए । उनले भने, ‘परियोजनाको ८ वटा पालिका कार्यक्षेत्र भए पनि अन्य स्थानमा पनि आवश्यकताअनुसार कृषकका लागि प्राविधिक सहयोग गर्न सकिन्छ । ’

    जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्था सियारीका अध्यक्ष अनिल शाहीले माछा उत्पादन लागत बढे पनि माछाको बजार मूल्य पुरानै हुँदा किसान मर्कामा परेको बताए । उनले जिउँदो माछा भैरहवा, बुटवल, परासी, पाल्पा पुर्याइएको बताए । किसानलाई सहलियतमा दाना, भुरा दिए बजारीकरणमा सहयोग पुग्ने उनले बताए ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले वास्तविक किसानले अनुदान पाउनुपर्ने बताए । उनले जनताले तिरेको करको सदुपयोग हुनुपर्नेमा जोड दिए ।

    महोत्सवको आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, महोत्सवका कृषि संयोजक अर्जुन कार्कीको स्वागत तथा प्रचारप्रसार समिति संयोजक कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    ‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ गत मंसिर २३ गतेदेखि सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ पुस ४ गतेसम्म चल्ने आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघका कोषाध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij