बुटवल, ६ पुस ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा भएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि कुवरवर्ती इङलिस बोर्डिङ स्कूलले जितेको छ । कुवरवर्तीले १० स्वर्ण, ३ रजत १ कास्य पदकसहित उपाधि हात पारेको हो । कालिका मानवज्ञान ९ स्वर्ण, ५ रजत, १ कास्य जित्दै दोस्रो र २ स्वर्ण २ रजत जित्दै एभरेष्ट र्बोडिङ स्कूल तेस्रो भएको छ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय टीमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
छात्र भलिबलको उपाधि कुवरवर्ती इङलिस बोर्डिङ स्कूलले हात पारेको छ । फाईनल खेलमा उजिरसिंह माविलाई ३–१ को सेटमा जीत निकाल्दै स्वर्ण हात पारेको हो । छात्र भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यू होराईजन इङलिस बोर्डिङ स्कूलले कालिका मानवज्ञानलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ ।
छात्रा भलिबलको फाईनल खेलमा एभरेष्ट इङलिस बोर्डिङ स्कूलले न्यू होराईजन इङलिस बोर्डिङ स्कूलमाथि ३–० को सेटमा खेल जित्दै स्वर्ण हात पार्यो । त्यसै गरी तेस्रो स्थानका लागि भएको खेलमा दीप बोर्डिङ स्कुलले नवज्योति माविलाई २–० सेटमा पराजित गरेको छ ।
छात्र कबड्डीको फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माविले शिवपुर माविलाई ११३–२८ अंकले पराजित गर्दै स्वर्ण हात पारेको छ । क्यानन इङलिस बोर्डिङ स्कूल तेस्रो भएको छ ।
छात्रा कबडीको उपाधि भने न्यू होराईजन माविले जितेको छ । फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माविलाई ४२–३५ अंकले जित्दै स्वर्ण हात पारेको हो ।
कविता प्रतियोगितामा प्रशंसा प्रथम
कालिका मानवज्ञान माविको प्रशंसा भट्टराई शेर बहादुर गुरुङ जिल्लास्तरीय कविता प्रतियोगितामा प्रथम भएकी छन् । शेर बहादुर गुरुङ अक्षयकोष–२०६७ द्वारा कालिका मानवज्ञान माविको ६२ औं वार्षिकोत्सब अवसरमा जिल्लास्तरीय अन्तर मावि कविता प्रतियोगिता सञ्चालन गरिएको थियो । ‘युवा र राजनीति’ शिर्षकमा राखिएको कविता प्रतियोगितामा दीप बोर्डिङ हाइ स्कूलकी अन्जली पाण्डे र मणिमुकुन्द माविकी प्रतिभा अर्याल क्रमशः द्वितीय र तृतीय भएका थिए ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएको कार्यक्रम संयोजक विवेकराज पोख्रेलले बताए । प्रतियोगितामा दिल साहनी, ऋषिराम अर्याल र टेकराज अर्यालको मूल्यांकन समितिले निर्णायकको भूमिका खेलेका थिए ।