
आइतवार , पौष १०, २०७९
भैरहवा, १० पुस ।
सन शाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर, रुपन्देहीले ‘थिम एक्जिवेशन’ कार्यक्रम सम्पन्न गरेको छ । ब्रिटिश काउन्सिलद्वारा अन्तर्राष्ट्रिय विद्यालय अवार्डले विभूषित तथा प्रोग्रेसिभ मोडलमा शिक्षण क्रियाकलाप सञ्चालन गर्दै आएको विद्यालयका कक्षा प्ले गु्रपदेखि कक्षा ९ सम्मका विद्यार्थीले सिकाइका क्रममा विद्यालयमा तयार गरिएका शैक्षिक सामग्री, शिक्षक र अभिभावकमाझ प्रदर्शन गरेको प्राचार्य निकेशदेव हटुवालले बताए ।
कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले यस्ता कार्यक्रमले आफूहरुको शारीरिक, मानसिक र सिर्जनात्मक ज्ञानको विकासमा टेवा पुग्ने, आफैले काम गरेर सिक्न पाउने, यस्ता क्रियाकलापमा सहभागी भएर सिकाई कार्यमा संलग्न हुँदा सहज र प्रभावकारी भएको बताउँछन् । उनीहरुले अभिभावक र शिक्षकहरुमाझ परियोजना कार्य प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको बताए ।
पाठ्यक्रमअनुसार विद्यार्थीहरुले आफ्ना दैनिक जीवनमा सिक्ने कुराहरुलाई त्रैमासिक परियोजनामा समावेश गराइ शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गरिदै आएको र शिक्षक विद्यार्थीबीचको सिकाइलाई अभिभावकहरुलाई समेत जानकारी गराउन विद्यालयले यस्ता कार्यक्रम आयोजना गर्दै आएको प्राचार्य हटुवालले जानकारी दिए ।
विद्यार्थीको सर्वाङ्गीण विकासमा यस्ता परियोजना, अभ्यास र प्रर्दशनीले महत्वपूर्ण भूमिका खेल्ने अभिभावक डा. विराज केसीले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने अभिभावक अप्सरा शाहीको भनाइ छ ।
पाठ्यक्रमअनुसार ज्ञान प्रदान गर्नको लागि विद्यालयले शिक्षकहरुका निम्ति प्रशिक्षण, अन्तरक्रिया, शैक्षिक भ्रमणलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध विकासका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij