
मंगलवार , पौष १२, २०७९
बुटवल, १२ पुस ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका दीर्घ रोगीहरुलाई गाउँमै विशेषज्ञबाट निःशुल्क जाँच, औषधी र परामर्श दिइएको छ । सन्धिखर्क नगरपालिकाको आयोजना तथा चौराहा हस्पिटलको प्राविधिक सहयोगमा अर्घाखाँची आवासीय माध्यमिक विद्यालयमा राखिएको शिविरमा हाडजोर्नी, नशा तथा मनोरोगका बिरामीहरु बढी भेटिएको उपचारमा संलग्न चिकित्सकहरु जानकारी दिए । नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर संचालन गरिएको बताए । दक्ष जनशक्ति र अस्पतालमा विशेषज्ञ सेवाबाट वञ्चित भएका बिरामीहरुलाई दुई दिनमा आवश्यक सेवा दिन सफल भएको उनले दावी गरे । नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्मका स्थानीयलाई दुई दिनसम्म व्यवस्थापन गरी सेवा दिइएको उनले बताए ।
सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण क्षेत्रको आवश्यकतालाई पहिचान गरी निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनाका कार्यक्रमहरु गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले बताए । शिविरमा १ हजार एक सय जना बिरामीहरुले सेवा लिएको उनले बताए । न्यूरो सर्जन डा. केआई सिंह, मुटुरोग विशेषज्ञ डा. विजय यादव, जनरल फिजिसियन डा. सरोज थापा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुनिल कुमार चौधरी, स्त्री तथा प्रसुति विशेषज्ञ डा. ज्योती श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा. मन्जिल मल्ल, युरो सर्जन डा. प्रेमराज सिग्देल, मानसिक तथा नशा रोग विशेषज्ञ डा. विनिता रेग्मी, नाक, कान, घाटी रोग विशेषज्ञ डा. महेश पोख्रेल, छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटा, रेडियोलोजिष्ट डा. सुरेन्द्र रायमाझी, बाल तथा शिशु रोग विशेषज्ञ डा. मौसम श्रेष्ठसहित मेडिकल अफिसर, स्टाफ नर्स तथा ल्याब स्टाफहरुबाट सेवा प्रदान गरिएको उनले बताए ।
त्यसै गरी शिविरमा ३ सय ६० जनाको मधुमेह, १ सय २० लिक्युट प्रोफाईनल, १ सय जनाको युरिन आरएफ, १ सय ७५ पिएफटि, २ सय २० भिडियो एक्सरे, १ सय ५ जनाको ईसीजी गरिएको उनले बताए । दुई दिनको शिविरमा प्राविधिक जाँचमा ७ लाख र औषधी ७ लाख रुपैयाँ बराबरको सेवा दिइएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij