२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललाई १० स्वर्ण

बुधवार , पौष १३, २०७९

भैरहवा, १३ पुस । 
भारतको महाराष्ट्र प्रदेशको पुनेमा सम्पन्न एनकेएफआई अन्तर्राष्ट्रिय कराँते तथा किक बक्सिङ च्याम्पिएनसीप–२०२२ मा नेपालले १० स्वर्ण पदक हात पारेको छ । 

भारतको महाराष्ट्र प्रदेशको पुने शहरस्थित नेताजी सुवास चन्द्र बोस मिल्ट्री स्कूल इनडोर स्टेडियममा भएको प्रतियोगितामा १० स्वर्ण, २ रजत पदकसहित १२ पदकसहित नेपाल दोस्रो भएको हो । श्रीलंका प्रथम भएको छ ।
प्रतियोगितामा ८ वर्ष मुनी उमेर समूहमा रुपन्देहीका सिद्धार्थ रानाले कुमुतेतर्फ नेपाललाई स्वर्ण पदक कातातर्फ रजत पदक प्राप्त गरे । त्यस्तै कुमुतेतर्फ ५० केजी सिनियर समूहमा विपिन राना र मिलन श्रीसले ५५ केजी समूहमा स्वर्ण पदक प्राप्त गरे ।

सन्तु थारूले ६० केजी समूहमा कास्य, सुमन परियारले ६८ केजी समूहमा स्वर्ण, सरोज थापा ६७ केजी समूहमा स्वर्ण र गोविन्द कुँवर क्षेत्रीले ६१ केजी समूहमा नेपाललाई स्वर्ण पदक दिलाए ।

त्यस्तै जुनियरतर्फ ४० केजी समूहमा नेहा श्रीसले स्वर्ण पदक, सोनिया विश्वकर्माले ४५ केजी समूहमा स्वर्ण, आकृती डम्मरपाल रानाले ५० केजी समूहमा स्वर्ण र रिमा कुमालले ६८ केजी समूहमा स्वर्ण पदक जिते ।

उक्त च्याम्पियनसीपमा नेपाल, भारत, बंगलादेश, श्रीलंका र भुटान गरी पाँच देशका कराँते खेलाडीको सहभागीता रहेको थियो । नेपालबाट जापान गोजूरियो कराते डो मिसन संघमा आबद्ध विभिन्न तौल समूहका ११ जना राष्ट्रिय कराँते खेलाडीहरू सहभागी रहेकामा सबै खेलाडीहरूले पदक हासिल गरेका प्रमुख प्रशिक्षक एवं संघका संस्थापक अध्यक्ष के.बि. राना (काजी) ले जानकारी दिए ।।

यसअघिका प्रतियोगितामा प्रथम हुँदै आएको नेपाल यसपटक खेलाडी संख्या कम भएका कारण यसपटक दोस्रो हुनुपरेको उनले बताए । प्रतियोगिता पुस ११ र १२ गते भएको थियो ।