२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देवदहमा विद्यालयस्तरीय मुख स्वास्थ्य शिक्षा अभियान सुरु

बिहिवार , पौष १४, २०७९

बुटवल, १४ पुस ।

रुपन्देहीको देवदह नगरपालिकामा विद्यालयस्तरीय मुख स्वास्थ्य शिक्षा अभियान सुरु भएको छ । बिहीबार देवदह–६ स्थित युगज्योती माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै अभियान सुरु भएको हो ।
बुटवलमा रहेको आधुनिक समाज डेन्टल केयर प्रा.लि.को आयोजना तथा प्राविधिक सहयोग र देवदह नगरपालिकाको सहयोग तथा समन्वयमा आयोजना भएको अभियानको नगरप्रमुख ध्रुव प्रसाद खरेलले उद्घाटन गरेका हुन् ।

नगरप्रमुख खरेलले बोल्दै देवदह नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निकै नयाँ योजनाहरु ल्याएको बताउँदै स्वस्थ देवदह नगरबासी बनाउने गरी कामहरु गरिएको बताए । उनले मुख स्वास्थ्यको बारेमा घरमा निकै सहज तरिकाले घरमै ख्याल राख्न सकिने भए पनि त्यो अनुसारको कामहरु नहँुदा समस्या रहेको बताए । उनले बालबालिकामार्फत शिक्षा प्रदान गर्दा उनीहरुसहित परिवार पनि स्वस्थ हुने भएकोले अभियान सुरु गरिएको जानकारी दिए । उनले मुख भनेको निकै संवेदनशील रहेको बताउँदै मुखको स्वास्थ्यमा हेलचेक्राई गरेमा हरेक किसिमबाट कुरुप हुने बताउँदै यसको उपचार पनि महंगो हुन जाने बताए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदह नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएको स्मरण गर्दै यहाँका नागरिकको सुरक्षा र शैक्षिकस्तर उकास्नका लागि कामहरु गरिरहेको बताइन् । उनले नगर अस्पताल बनेको बताउँदै शुन्य घर डेलिभरी अभियान समेत चलाएको बताउँदै मुख स्वास्थ्यको अभियानलाई अगाडि ल्याएको बताइन् । उनले यो कार्यक्रमले विद्यालयस्तरका बालबालिकाहरु मुख स्वास्थ्यप्रति सचेत हुने र समग्र नगरमा नै राम्रो प्रभाव पर्ने बताइन् ।

कार्यक्रममा देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, देवदह–६ अध्यक्ष खेम सारु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम नारायण अधिकारी, प्रधानाध्यापक शिव प्रसाद ढुंगाना, मुख स्वास्थ्य अभियन्ता माधव सापकोटा, देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा. जयराज शर्मा लगायतले बोल्दै मुख स्वास्थ बेलैमा उपचार गरेमा निकै सहज तर ढिलो भएमा महंगो हुने भएकोले वेलैमा सचेतना अपनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रम अन्तरगत नमुना रक्तअल्पता एचवी परीक्षण गरी किशोरीहरुको रक्तअल्पताको स्थिति समेत जानकारी प्रदान गरिने आधुनिक समाज डेण्टल बुटवलका सञ्चालक अमृत भुसाल (पियुस) ले जानकारी दिए । डेण्टलका ५ जना चिकित्सक तथा प्राविधिकहरुले अभियानमा कार्यहरु गरिरहेका छन् ।

कार्यक्रम नगरपालिकाभित्रका ३० वटा सामुदायिक विद्यालयहरुमा सञ्चालन हुने देवदह नगरपालिकाका जनस्वास्थ्य निरिक्षक काशीनाथ बञ्जाडेले जानकारी दिए । उनले वर्षको दुईपटक अभियान सञ्चालन हुने बताए ।
यसबाट नगरपालिका भित्रका करिब १० विद्यार्थीहरुले लाभ पाउनेछन् । पहिलो चरण अन्तरगत १ महिनाभित्र सम्पूर्ण विद्यालयका विद्यार्थीहरुको चेकजाँच हुनेछ ।