
बुधवार , पौष ८, २०७७
गुल्मी, ८ पुस ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडगाउँका डिलाराम मरासिनी मंसिर लागेपछि बारीमा फलेको सुन्तला बेच्न निकै व्यस्त हुन्थे । सुन्तला बेचेरै राम्रो आम्दानी गर्दै आएका मरासिनी यस वर्ष सुन्तला उत्पादन घट्दा दुःखी छन् ।
त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडगाउँका थम्मन बहादुर भण्डारी यस वर्ष सुन्तला खेतीबाट असन्तुष्ट छन् । सुन्तलाको सिजन सकिएपछि पनि लामो सम्म बजारमा सुन्तला बेच्दै आएका भण्डारीको यसपटक अनुहारमा खुशी छैन् । निकै गुलियो र राम्रो दाना भएकाले प्रशस्त बजार पाउँदै आएको सुन्तलाको उत्पादन घट्दा कृषकलाई कारोना पछिको अर्को धक्का लागेको छ । सुन्तला बेचेर गुजारा तथा छोराछोरी पढाउँदै आएका कृषकलाई उत्पादन घटेपछि आफुहरु निराश भएको गुल्मीका कृषकले बताउँदै आएका छन् ।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष ०७४÷०७५मा मन्त्रीस्तरीय निर्णयबाट गुल्मी जिल्लामा सुन्तला जात जोन व्यवसायीकरणको लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत सुन्तला जोन स्थापना भएको थियो । गुल्मीमा सुन्तला जोन घोषणा भए तापनि विगतका वर्षमा भन्दा यस तुलात्मक रुपमा उत्पादन घट्ने कृषक बताउँछन् ।
यसवर्ष सुन्तलाको बोटमा फूल तथा दाना लाग्ने समयमा बढी मात्रामा वर्षा भएका कारण सुन्तला उत्पादन कम भएको कृषकको भनाइ छ । सुन्तलाको बोटमा फलेको सुन्तला रोगप्रकोपका कारण खस्ने, यो वर्ष सुन्तलाको दाना सानो भएको कृषकले गुनासो गर्छन् । सुन्तला खेतीबाट जीविकोपार्जन तथा छोराछोरीको पढाई खर्च जुटाउँदै आएका गुल्मीका कृषक यस वर्ष निराश छन् ।
गुल्मीमा उत्पादन भएको सुन्तला तम्घास, पाल्पा, बुटवल, काठमाडौं लगायतका शहरमा निर्यात हुने गर्दछ । कृषकको घरबाटै ८० रुपैयाँमा विक्री गर्दै आएका छन् । कृषकलाई उत्साहित गर्ने रेसुङ्गा नगरपालिकाले विरुवा वितरण गरे पनि यस वर्ष गुल्मीमा कम सुन्तला उत्पादन हुने रेसुङ्गा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष थम्मन बहादुर केसीले बताए । वडा अध्यक्ष केसी भन्छन् ‘भाडगाउँ सुन्तलाको पकेट क्षेत्र हो तर अविरल वर्षाका कारण फल्न सकेन । ’
जिल्लाका ८ वटा पालिकामा सुन्तला जोन कार्यक्रम लागु भएको छ भने ८ पालिकाका २४ वडामा संचालन भएको छ । सुन्तलाजात जोनमा कृषक समूह तथा सहकारी गरी १७४ जना आबद्ध छन् । गत वर्ष जिल्लाका स्थानीय तह कालीगण्डकी गाउँपालिकामा ७३ हेक्टर, गुल्मीदरबार गाउँपालिकामा ९४ हेक्टर, चन्द्रकोट गाउँपालिकामा ७३ हेक्टर, छत्रकोट गाउँपालिकामा १२४ हेक्टर, धुर्कोट गाउँपालिकामा २७८ हेक्टर, मदाने गाउँपालिकामा ६१ हेक्टर, मुसिकोट नगरपालिका ५३ हेक्टर, रेसुङ्गा नगरपालिका १३२ हेक्टर क्षेत्रफलमा गरी जिल्लामा ८ सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।
सुन्तलाजात फलफूल जोनको तथ्यांक अनुसार ४०२.७९ हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्रमा गत बर्ष ७०२२.७९ मेट्रिकटन सुन्तला उत्पादन भएको प्रधानमन्त्री आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, गुल्मी जनाएको छ । कृषकले घटेको गुनासो गरे तापनि यसवर्षको उत्पादन तथ्यांक लिन कर्मचारीहरु फिल्ड खटिएको कार्यालयका कृषि अधिकृत सुमन खनालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij