
मंगलवार , पौष १९, २०७९
सियारी, १९ पुस ।
रुपन्देहीको सियारी गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान कार्यक्रमको थालनी गरेको छ । पालिकाले जेष्ठ नागरिकको सम्मान स्वरुप न्यानो कपडा वितरण कार्यको थालनी गरेको छ ।
सियारी गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर ५ बाट जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । ७० वर्षमाथिका जेष्ठ नागरिकलाई जाडोबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले जेष्ठ नागरिकलाई ब्लाङकेट वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
सियारी–५ का वडाअध्यक्ष धनपति खरेलले जेष्ठ नागरिकलाई जाडोबाट जोगाउन तथा सम्मानस्वरुप ब्लाङकेट वितरण गरिएको जानकारी दिए । उनले वडाको वार्षिक कार्यक्रमअन्र्तगत १८५ जना जेष्ठ नागरिकलाई ब्लाङकेट वितरण गरिएको बताए । उनले यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले पालिकाले जेष्ठ नागरिकको हितका लागि नीति बनाएर कार्यक्रम गर्दै आएको बताए । उनले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नेदेखि लिएर न्यानो कपडा वितरण लगायतका कार्य गर्दै आएको बताए ।
सियारीले गाउँपालिकाभित्रका १ हजार ३ सय ७८ जना जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गरी औषधी उपचार गरेको बताए । उनले सियारीबासी नागरिकका लागि निःशुल्क रगतको प्रबन्ध समेत मिलाइएको बताउँदै यसको लाभ लिन सबैलाई आग्रह समेत गरेका छन् ।
पालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य सेवामा लाभ पुर्याउने उद्देश्यले रगत र मोतियाबिन्दुको अपरेशनलाई निःशुल्क बनाएको अध्यक्ष घिमिरेले बताए ।
ब्लाङकेट बितरण कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले जेष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफूलाई खुसीको अनुभुति भएको बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले वडा कार्यालयको वार्षिक कार्यक्रमअन्र्तगत ५ नम्बर वडाले जेष्ठ नागरिकको सम्मानस्वरुप न्यानो कपडा (ब्लाङकेट) वितरण गरेको बताए । उनले पालिकाभित्रका अन्य वडाले आफ्ना वार्षिक कार्यक्रमअन्र्तगत विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
न्यानो कपडा पाएपछि जेष्ठ नागरिक निकै खुसी देखिएका छन् । वडाले गरेको सम्मानले आफूहरुलाई निकै खुसी तुल्याएको उल्ल्लेख गर्दै सियारी–५ सिद्धपुरका ९६ वर्षिय सुकदेव पौडेलले न्यानो कपडासँगै औषधीउपचारका लागि राम्रो अस्पतालको प्रबन्ध मिलाउन सके निकै सहज हुने बताए ।
सियारी–५ कै देउकली पाण्डेले सियारी गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि स्वागतयोग्य काम गरेको बताउँदै यस्ता कामलाई निरन्तरता दिन आग्रह गरिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij