२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सिद्धार्थनगरमा चौपाया ट्रक पछाडी बांधेर घिसारेपछि आलोचना

बिहिवार , पौष २१, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, २१ पुस । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपायालाई ट्रकमा बांधेर घिसारेपछि नगरपालिकाको आलोचना भएको छ । छाडा चौपाया व्यवस्थापन अभियान सुरु गरेको सिद्धार्थनगरले लु १ ग ३६२ नम्बरको ट्रकको पछाडी बांधेर सांढेलाई घिसार्दै गरेको तस्वीर सामाजिक संजाल फेसबुकमा सार्वजनिक भएसँगै आलोचना तथा विरोध भएको हो ।

    तस्वीरमा नगरपालिकाको ट्रकको पछाडीको भागमा चौपाया डोरीले बांधेर घिसार्दै गरेको देखिन्छ । केही समय पहिला पनि बुद्धचोकमा गाईलाई ट्रक पछाडि बांधेर लगेको दृश्य सामाजिक संजालमा सार्वजनिक भएको थियो ।
    छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै भैरहवाका स्थानीय युवाहरुले बुधबार सांझ नगरपालिका कार्यालय अगाडी नाराबाजी समेत गरेका थिए ।

    नेकपा (एमाले) सिद्धार्थनगरका सचिव तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले जिउँदो गाईलाई रगताम्य गराउँदै बाँधेर ट्रकले तानेर लैजान नपाइने बताए । उनले यसबारे नगरप्रमुखले जवाफ दिनुपर्ने बताए । 

    अधिवक्ता प्रख्यात बन्जाडेले भने, ‘गाई-गोरू व्यवस्थापन गर्ने नाममा यो कुन पारा हो सिद्धार्थनगर नगरपालिका को ? ’

    छाडा चौपाया व्यवस्थापनको नाममा चौपायालाई ट्रकको पछाडि बाँधेर घिसार्न नपाइने भन्दै उक्त कार्यमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन समेत स्थानीयले माग गरेका छन् ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले दोषी कर्मचारीलाई कारवाही गर्ने दावी गरे ।