
बुधवार , पौष ८, २०७७
बुटवल, ८ पुस ।
दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता २०७७ बिहीबारदेखि बुटवलमा सुरु हुने भएको छ । फुलबारी गाईजको आयोजनामा हुने दुईदिने प्रतियोगिताको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको हो ।
लुम्बिनी फुटसल एरिया योगिकुटीमा हुने प्रतियोगितामा मुग्लिङ, पाल्पासहित जिल्लाका उत्कृष्ट १८ टिमको सहभागिता रहने संयोजक सुशील तामाङले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार, मेडल, ट्रफि र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । त्यसै गरी विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार गरिने उनले बताए । बिहीबारको उद्घाटन खेल लाफा एफसी, बुटवल र हिमालय गोर्खा एफसी, खैरेनीका बीचमा हुनेछ ।
क्लबका अध्यक्ष शिव रानाले खेलकुदको माध्यमबाट युवाहरुबीच भातृत्व र एकता कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको बताए ।
कार्यक्रममा क्लबका सल्लाहकार वरिष्ठ हसन्त लामाले कोभिड–१९ का कारण मानसिक र शारीरिक पिडामा रहेका खेलाडीहरुलाई प्रतियोगिताबाट खेलमा फर्कन सहयोग मिल्ने बताए ।
कार्यक्रममा क्लबका सल्लाहकार याम बराल, सन्जु बस्नेत, सचिव तेज बहादुर रानाले युवाहरुको अगुवाईमा खेलकुद र सामाजिक काममा अग्रसर रहेको बताए । प्रतियोगिता सम्पन्न गर्न २ लाख १५ हजार खर्च अनुमान रहेको छ । गत वर्ष स्मृति स्पोर्ट्स एकेडेमीले उपाधि चुमेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij