२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

छाडा चौपाया व्यवस्थापन गर्ने नाममा अमानवीय कार्य : राप्रपा रुपन्देही

बिहिवार , पौष २१, २०७९

भैरहवा, २१ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा छाडा चौपाया व्यवस्थापन गर्ने नाममा नेपालको राष्ट्रिय जनावर तथा हिन्दुहरुको आस्थाको प्रतिक गाईलाई अमानवीय ढंगले घिसार्दै लगिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले आफ्नो गम्भिर ध्यानाकर्षण गरेको छ ।

बिहीबार सिद्धार्थनगर नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै राप्रपा रुपन्देहीले यस्तो अमानवीय कार्यले हिन्दु धर्मावलम्बीमाथि गम्भिर चोट पुगेको जनाएको छ । पार्टीका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाया व्यवस्थापन कार्य सुचारु गरेकोमा हाम्रो पार्टीको समर्थन रहेको छ तर सामाजिक तथा धार्मिक आस्थामाथि खेलवाड गर्ने कुनै पनि व्यक्ति तथा संघ–संस्थालाई छुट हुने छैन । त्यस्ता व्यक्तिलाई नेपालको कानूनअनुसार कानूनी दायरामा ल्याइ अविलम्ब कारवाही गरियोस् ।’त्यस्ता अमानवीय तत्वहरुलाई कानूनअनुसार कारवाही नगरे आन्दोलन गर्न बाध्य हुने राप्रपा रुपन्देहीको भनाइ छ । ज्ञापनपत्र बुझाउन राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, नेताहरु शंकर खत्री, घनश्याम भट्टराई, ओमनाथ कहार, अनमोल ढकाल, विनिता गुप्ता, बबिता भट्टराई लगायत सिद्धार्थनगर नगरपालिका कार्यालय पुगेका थिए ।