२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनीमा महिलालाई जिउँदै जलाइएको आरोप

बुधवार , पौष ८, २०७७

लुम्बिनी, ८ पुस । 
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक महिलालाई जिउँदै जलाएको माइती पक्षले आरोप लगाएका छन् । सियारी गाउँपालिका-३ माइती भएकी २१ वर्षिया सम्झना चाई नाम गरेकी महिलालाई उनकै घरपरिवारका सदस्यले जिउँदै आगो लगाएर मारेको भन्दै माईती पक्षले आरोप लगाएका छन् । घटना गत मंसिर ३० गते राती भएको र भोलीपल्ट बिहान प्रहरीमा जानकारी गराइएकोले पनि आत्महत्या नभइ हत्या भएको हुन सक्ने आशंका रहेको उनीहरुको भनाई छ । 

इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार घटना पुस १ गते बिहान करिब ६ बजेतिर भएको र घटनाको प्रकृति, घटनास्थलको अनुसन्धान र प्रत्यक्षदर्शीको बयान अनुसार आत्महत्या भएको हुन सक्ने देखिन्छ । बिहान सबै उठेर आ-आफ्नो काम धन्दा लागेपछि आफ्नो कोठाको ढोका थुनेर मट्टीतेल छर्केर आगो लगाई आत्महत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । यद्यपी आत्महत्याको लागि दुरुत्साहन भएको हुन सक्ने आशंका माइती पक्षले गरेको हुनाले थप अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक डेलिम्बराज घिमिरेको भनाइ छ । 

परिवारिक श्रोतका अनुसार माइती पक्षले लगाएको आरोप निराधार छ । घटनाको अघिल्लो दिन सबै परिवार खानाखाई सुतेको र कुनै झैझगडा वा विवाद नरहेको बताइन्छ । बिहान आफुहरु खेततर्फ काम गर्न जाँदै गर्दा घरभित्र आगो लागेको, धुँवाको मुस्लो निस्किएको र हारगुहार भन्दै घरबाहिर मान्छेले हल्लाखोर गरी चिच्चाएपछि फर्केर ढोका फोडेर आगो निभाएको मृतकका पति मुकेश चाईको भनाई छ । 

केहीदिन अघि मृतक सम्झनाले सात महिना अवधिको बच्चा जन्माएको र उक्त बच्चाको मृत्यु भएपछि उनि पीडा सहन नसकी बिछिप्त भइ तनावग्रस्त अवस्थामा रहेको पाइएको छ । परिवारका सदस्यले सम्झाउँदा पनि आफु निकै पीडामा रहेको बताउने गरेको पति मुकेश चाईको भनाई छ ।