
शनिवार , पौष २३, २०७९
बुटवल, २३ पुस ।
नेपाली काँग्रेसका नेता तथा भारतका लागि नेपालका पूर्वराजदुत दीपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि पुष्पकमल (प्रचण्ड) लाई धोका दिने दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै पूर्वराजदुत उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे । भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो पार्टी काँग्रेससहित अन्य दलहरु समेत कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उपाध्यायले दलहरुभित्र रहेको भागबण्डा, गुटबन्दी नैतिक मुल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनितिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको बताए । कार्यक्रममा वोल्दै उपाध्यायले भने, ‘चरम “कू” राजनीतिक मौलाउँदै गएकाले विरक्त भएर आफु अहिले सक्रिय राजनीतिबाट विश्राम लिएको समेत बताए ।
उनले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरु सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनीति भन्दा सत्ता स्वार्थमा नीहित भएर राजनीति गरेको आरोप लगाए । नेपालमा गठबन्धन लोकतन्त्र मूल्य मान्यताविपरीत भएको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहेका उपाध्यायले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्नुपर्ने भए पनि पछि विदेशी शक्तिहरुले धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको बताए । उनले राजनीतिक दलहरुको दुरदर्शीताको अभावले विदेशी शक्ति केन्द्रहरुले चलखेल गरेको बताउँदै यस्तै अवस्था रहिरहे देश ठूलो संकटमा फस्ने चिन्ता व्यक्त गरे।
प्रचण्डले प्रधानमन्त्री दावी गर्दा अन्य दलहरुले महत्वपूर्ण पदमा दावी गर्नु स्वाभिक रहेको बताउँदै यो सरकारले विश्वासको मत ल्याउने कुरामा शंका व्यक्त गरे । कार्यक्रम रिपोर्टर्स क्लब नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij