
आइतवार , पौष २४, २०७९
तिलोत्तमा, २४ पुस ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिङ्गरनगरस्थित श्रृङ्गेश्वर धाम परिषरमा निर्माण भएको ज्येष्ठ नागरिक मिलन केन्द्र आगामी २०८० साल वैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
श्रृङ्गेश्वर धामको शनिबार भएको छैठौं साधारणसभाले वैशाख १ गतेदेखि विधिवत रुपमा सञ्चालन गर्ने गरी आवश्यक प्रक्रिया अगाडि वढाउने प्रस्ताव पारित गरेपछि ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउने भएको हो । अघिल्ला वर्षहरुमै सञ्चालनमा ल्याउने तयारी भए पनि कोभिड–१९, आर्थिक अभाव, अन्य व्यवस्थापनमा भएको कमीले मिलन केन्द्र सञ्चालनमा आउन नसकेको हो ।
श्रृङ्गेश्वर धामको साधारणसभाले धाम परिसरमा रहेको पशुपति सदन माथि आकर्षक सभाहल निर्माण गर्ने, पार्किङ्गस्थलको व्यवस्थापन, हरियाली प्रवद्र्धन, वोरिङ्ग जडान, धामको मूल गेट अगाडिको सडक कालोपत्रे गर्नका लागि स्थानीय नगरपालिकासँग समन्वय गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा धामको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै धामका अध्यक्ष ऋषि भण्डारीले धामको आजीवन सदस्यता विस्तार कार्यलाई निरन्तरता दिने, धाम परिसरमा निर्मित विभिन्न मन्दिरहरुमा नित्य पूजाका अतिरिक्त श्रावण महिनामा जलार्पण, महाशिवरात्रीमा शिवरुद्राभिषेक, शतचण्डी, रुद्री, श्रीकृष्ण जन्माष्टमीलगायत विशेष धार्मिक महत्वका दिनमा विशेष पूजाआजालाई निरन्तरता दिइने बताए ।
गुल्मेली सम्पर्क समाज रुपन्देहीको गुरुयोजना र अगुवाइमा स्थापित पवित्र श्रीङ्गेश्वर धाम २०७३ सालमा विधिवत रुपमा दर्ता भइ सञ्चालनमा आएको संस्था हो । धाम अन्तर्गत आर्थिक संकलन, पूजा व्यवस्थापन, हरियाली प्रवद्र्धन, निर्माण तथा मर्मत, भजन तथा साँस्कृतिक, अनुगमन, प्रचारप्रसार, संघ–संस्था समन्वय लगायतका उपसमिति गठन गरी कामहरु हुंदै आएको छ ।
धाम परिसरमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रसँग सहकार्य गर्दै खेम ओमी कल्याणकारी प्रतिष्ठानले आनन्द भवन (ज्येष्ठ नागरिक मिलन केन्द)को तेश्रो तल्ला माथि प्रतिष्ठानको आफ्नै लागतमा चौथो तल्ला थप गरी असहाय, गरीब तथा जेहेन्दार छात्रालाई छोरी शिक्षाको नामबाट निःशुल्क छात्रावास सञ्चालनका लागि निर्माणको काम भइरहेको छ । तल थप गर्दा र छात्रावास सञ्चालन गर्दा लाग्ने सम्पूर्ण खर्च प्रतिष्ठनले नै व्यहोर्ने र धाम तथा मिलन केन्द्रलाई कुनै आर्थिक व्ययभार नपर्ने सहमति भएको धामका अध्यक्ष भण्डारीले बताए ।
साधारणसभामा गुल्मेली सम्पर्क समाजका संस्थापक अध्यक्ष ई. हिरा बहादुर भलामीले श्रृङ्गे ऋषिको नामबाट स्थापित धाम पवित्र धार्मिक तथा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा स्थापित भएको बताए । धाममा प्रवेश गरेपछि सत्कर्म र सत्मार्गमा लाग्न उर्जा मिल्ने भन्दै उनले खराव चिन्तनको विकास नहुने बताए ।
धामका सल्लाहकार तथा पूर्व प्रशासक टिकाराम घिमिरेले धाम परिसरभित्र भौतिक पूर्वाधारका काम करिबकरिब सम्पन्न भएकाले यसको दीगो व्यवस्थापन र दीर्घकालिन सञ्चालनको पाटो चुनौतिका रुपमा रहे पनि दाताहरुको सहयोगले सबै सहज हुने बताए ।
ज्येष्ठ नागरिक मिलन केन्द्रका संस्थापक अध्यक्ष स्वर्गीय खेम पुनको अभाव सदा खट्किरहने भन्दै उनले मिलन केन्द्र सञ्चालनमा आएपछि पुनको सपना साकार हुने उल्लेख गरे ।
ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले आर्थिक अभावका बाबजुद पनि नयाँ वर्ष २०८० साल वैशाख १ गतेदेखि मिलन केन्द्र सञ्चालनका लागि आवशयक प्रक्रिया अगाडि बढाउने बताए ।
साधारणसभामा धामका कोषाध्यक्ष गणेश न्यौपानेले धाममा हालसम्म १६ लाख ८० हजार ५५१ रुपैयाँ आम्दानी, १३ लाख ३ हजार २५ रुपैयाँ खर्च भइ ३ लाख ७७ हजार ३२५ रुपैयाँ बचत भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
धामका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षता, उपाध्यक्ष जे.पी. कँडेलको स्वागत तथा सचिव केशवराज पोख्रेलको सञ्चालनमा भएको साधारणसभामा धामका आजीवन सदस्यहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij