२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

सन्दर्भ : ३०१ औं पृथ्वीजयन्ती

 राष्ट्रिय एकता र सामाजिक सदभाव आजको आवश्यकता : वरिष्ठ संस्कृतिविद् डा.गुरुङ

बुधवार , पौष २७, २०७९

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • बुटवल, २७ पुस । 
    पुथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बुटवलमा एक कार्यक्रमको आयोजना गरिएको छ । विश्व हिन्दु महासंघ रुपन्देहीद्वारा आयोजित ३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ संस्कृतिविद् तथा प्रज्ञा प्रष्ठिानका पूर्व उपकुलपति डा.जगमान गुरुङले हिन्दुत्वको रक्षा, राष्ट्रिय एकता र सद्भाव आजको आवश्यकता रहेको बताएका छन् ।

    तत्कालिन अवस्थामा बाईसे चौबिसे राज्यका नाममा टुक्राटुक्रा भएको नेपालको एकिकरण गर्ने, घुस खाने र भ्रष्टाचार गर्नेलाई कडा दण्डित गर्ने, नेपाललाई ४ जात ३६ वर्णको साझा फुलवारी बनाउने र सामाजिक विभेदको अन्त्य गरी सार्वभौम राष्ट्रको स्थापना गर्ने महान व्यक्तित्व स्व. पृथ्वीनारायण शाहको उचित सम्मान आवश्यक रहेको डा. गुरुङ्गले बताए । हिन्दुत्व भनेको मानिसले मानिसलाई गर्ने आदर, सम्मान, नैतिक, चरित्र र सद्भाव र बिश्वासको सकारात्मक प्रयोग गर्ने सर्वोत्तम संस्कृति भएको चर्चा गर्दै वरिष्ठ संस्कृतिविद् डा. गुरुङले आधुनिक नेपालका निर्माता भनेर समेत पहिचान बनाएका पृथ्वीनारायणले राष्ट्रिय एकता र जातीय सद्भावलाई अति नै महत्वका साथ अवलम्बन गरेको उल्लेख गरे ।

    कार्यक्रममा पूर्व सांसद् शकंर पाण्डे, विश्व हिन्दु महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्री, नेपाल जेसीजका पूर्व अध्यक्ष अनुपमान सैंजु, रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ, कार्यालय सचिव उर्मिला श्रेष्ठ लगायतले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको योगदानको चर्चा गरेका थिए । 

    यसैबीच नेपाल सरकारले पुस २७ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा कार्यक्रममा सहभागि सबैले स्वागत गरेका छन् ।  सरकारको उक्त निर्णय निकै सान्दर्भिक र स्वागतयोग्य रहेको भन्दै हिन्दु धर्ममाथि प्रहार भइरहेको समयमा यस्तो निर्णयले केहि हदसम्म भए पनि हिन्दुत्वप्रति सम्मान गरेको बताएका थिए । कार्यक्रममा समाजसेवामार्फत हिन्दुत्व रक्षाका लागि योगदान पुर्याएको भन्दै रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेल लगायत बिभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो ।