२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बलात्कारका घटना भयावह : एउटै जिल्लामा चार वर्षमा ९० घटना

शुक्रवार , पौष १०, २०७७

इलाम, १० पुस ।

पछिल्लो समय समाजमा बलात्कार र यौनजन्य हिंसाका घटना भयावह बन्दै गएको देखिएको छ । इलाममा मात्र गत चार वर्षमा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । जुन सभ्य समाजका लागि लाजमर्दो विषय भएको सरोकारवाला पक्षको भनाइ छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए । यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भएका थिए । यसमध्ये बलात्कारमा पर्नेमा बालिका बढी देखिन्छ ।

इन्सेकका अनुसार सन् २०१७ मा बलात्कारका ३२ घटनामा २२ बालिका र १० महिला, सन् ०१८ मा बलात्कारका २३ घटनामा १५ बालिका र आठ महिला तथा सन् ०१९ मा बलात्कारका २१ घटनामा बालिकाको सङ्ख्या १३ र महिलाको संख्या आठ थियो ।
पछिल्लो चार वर्षमा आत्महत्याका २६५, बलात्कारका ९०, घरेलु हिंसा ८५, बहुविवाह १७, हत्या १५, मानव बेचबिखन आठ, बलात्कारपछि हत्या तीन, जातीय विभेद र कुटपिट दुई÷दुई र बालविवाह भएको इन्सेकको तथ्यांकले देखाउँछ ।

यस वर्ष सबैभन्दा अन्य घटनाका तुलनामा आत्महत्याको घटना बढी भएको छ । यस वर्ष ११४ वटा आत्महत्याका घटना देखिएको इन्सेक इलामका प्रतिनिधि कोकिला ढकालले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर भएका महिला र बालिका बलात्कारको शिकार हुने गरेको प्रतिनिधि ढकालले जानकारी दिइन् ।

आर्थिक संकट टार्नका लागि काम गर्नुपर्ने बाध्यता हुनाले बलात्कारमा पर्न सक्ने जोखिम रहेको उनले बताइन् । परपुरुषसँग मात्र नभइ अभिभावकबाट बलात्कृत हुने क्रम बढेको बताइएको छ । हिंसाका घटना घरभित्रैबाट सुरु हुने र तिनै घटना बलात्कारसम्म पुग्ने गरेको मानवअधिकारकर्मीको भनाइ छ ।

घटना ढाकछोप गर्न मिलापत्र गर्नेदेखि पीडितलाई मार्नेसम्मका जघन्य अपराधका घटनासमेत बढेकाले यसबाट बच्न सचेतनाका कार्यक्रम ल्याउन आग्रह गरिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीनराज राईले महिला बढी प्रभावित भएकाले न्यूनीकरणका लागि विभिन्न तालीमका कार्यक्रम ल्याइएको जानकारी दिए । मानवअधिकार उल्लंघनका घटना बढेकाले महिलालाई उत्प्रेरणा दिने कार्यक्रम ल्याइएको राईले बताए ।