२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

संसद विघटनको विरोधमा मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदर्शन 

शुक्रवार , पौष १०, २०७७

नवलपरासी, १० पुस ।
प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा मानव अधिकार तथा शान्ति समाज पश्चिम नवलपरासीले शुक्रबार नवलपरासीको सुनवल–१२ भुमहीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेको छ ।  शान्ति समाजले लोकतन्त्रमाथि खतरा बढेको भन्दै लोकतन्त्र बचाउनका निम्ति खबरदारीपूर्ण विरोध प्रदर्शन गरेको हो । ‘लोकतन्त्र मास्न पाइदैन, प्रतिगमन चाहिदैन’, ‘कुशासनमा लिप्त ओली सरकार, प्रतिगमनको सबैभन्दा ठुलो मतियार’ सहितका नाराहरु लगाउँदै विरोध प्रदर्शन गरिएको थियो ।

विरोधसभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले बर्तमान सरकारले संघीय संसदको विघटन गरेर असंवैधानिक काम गरेकाले लोकतन्त्रमाथि नै खतरा बढेको बताए । ‘प्रधानमन्त्रीले संसद विघटनमा चालेको कदमले देश गम्भिर मोडमा पुगेको छ, उनले भने ‘प्रधानमन्त्रीको यो कदमले जनमतको अपहेलना भएको छ ।’

त्यस्तै सभामा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य मोहन प्रसाद वि.क.ले प्रधानमन्त्रीको असंवैधानिक कदमले देशले हालसम्म लोकतन्त्र प्राप्तिका लागि गरेका उपलब्धि र प्रयासहरु गुम्न सक्ने खतरा बढेको बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार माधव प्रसाद पाण्डे, कृष्ण श्रेष्ठ, पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतले आफ्नो धारण प्रस्तुत गरेका थिए । 

मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष सन्तोष अधिकारीको नेतृत्वमा भएको विरोध सभाको महत्वमाथि प्रकाश न्यौपानेले आफ्नो भनाइ राखेका थिए भने कार्यक्रमको सञ्चालन शान्ति समाज नवलपरासीका सचिव गणेश न्यौपानेले गरेका थिए । शान्ति समाजले लोकतान्त्रिक संस्कृति निर्माणका लागि विगत समयदेखि नै अभियान संचालन गर्दै आएको छ ।

त्यस्तै भुमहीमा  शुक्रबार नै राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला समितिले पनि संसद विघटन गर्ने ओली सरकारको निर्णय असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद कदम भन्दै त्यसकोविरुद्ध विरोध प्रदर्शन गरेको छ ।