२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

कोरोनाले पारेको आर्थिक तथा व्यवसायिक प्रभावको सर्वेक्षण गरिँदै

शुक्रवार , पौष १०, २०७७

बुटवल, १० पुस ।
कोरोना भाइरस (कोभिड–१९) को कारण आर्थिक तथा व्यवसायिक रुपमा परेको प्रभावको अध्ययन तयारी गरेको बुटवल उद्योग वाणिज्य संघले त्यसको प्रभावको बारेमा बस्तुगत समितिहरुसंग छलफल गरेको छ ।

कोरोना भाइरसले प्रभाव पार्यो मात्रै भन्ने भन्दा पनि के कस्तो प्रभाव पार्यो ?, आर्थिक नोक्सानी के कति भयो ?, रोजगारीको क्षेत्रमा कस्ता समस्या भए ?, आगामी दिनमा कस्ता समस्या देखिन्छन् ? लगायतका कुराहरुको. एकिन विवरण ल्याउनको लागि बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी वाणिज्य क्याम्पसले संयुक्त रुपमा कोभिड–१९ को आर्थिक तथा व्यवसायिक प्रभाव सर्वेक्षणको तयारी गरिएको बुटवल उद्योग वाणिज्य संघका कार्यालय प्रमुख मदन खनालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठले कोभिड–१९ का कारण नीजि क्षेत्रमा परेको असरको आकलन गर्न र सरकार निकाय तथा अन्य क्षेत्रमा औद्योगिक तथा व्यबसायिक प्रवद्र्धनको लागि पहल पैरवी गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै संघका वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले कोभिडका कारण हामी समस्यामा पर्यो भन्नेमा दुई मत नभए पनि वास्तविक तथ्यांक भएन, त्यसकै लागि लुम्बिनी वाणिज्य क्याम्पसको सहकार्यमा सर्वेक्षण गर्न लागिएको बताए ।

यो सर्वेक्षणमा क्षेत्रगत रुपमा वस्तुगत संघहरुबाट र व्यक्तिगत रुपमा उद्योगी व्यवसायीलाई स्याम्पल कलेक्सन गरिनेछ । वस्तुगत संघहरुबाट सूचना लिने काम सुरु भएको र अर्को हप्तादेखि व्यक्तिगत रुपमा उद्योगी व्यवसायीबाट सूचना संकलनको काम सुरु हुने बुटवल उद्योग वाणिज्य संघले जनाएको छ । पुम नेदरल्याण्डको प्राविधिक सहयोगमा गर्न लागिएको आर्थिक तथा व्यवसायिक प्रभाव सर्वेक्षणको अन्तिम नतिजा आउन करिब १ महिना लाग्ने संघले जनाएको छ ।

शुक्रबार संघमा भएको कार्यक्रममा वस्तुगत संघहरु खुद्रा किराना, ग्रिल, मिष्ठान्न तथा क्याटरिङ्, ईट्टा, विद्यालय, कपडा लगायतका उद्योगी व्यवसायीहरु सहभागि भएका थिए ।