
आइतवार , पौष १२, २०७७
भैरहवा, १२ पुस ।
सेवा भावले स्थापित लायन्स क्लबहरुलाई सामाजिक क्षेत्रमा अझै क्रियाशिल बनाउने गरी योजना बनाउन थालेको लायन्सका अगुवाहरुले बताएका छन् । लायन्स इन्टरनेशनल ३२५ बी टु नेपाल अन्तर्गत जोन ७४ का जोन चेयरपर्सन संगम न्यौपानेको अध्यक्षतामा बसेको दोस्रो बैठकले सामाजिक सेवामा लायन्सको भूमिकालाई अझ सशक्त बनाउने निर्णय गरेको हो ।
बैठकमा प्रमुख अतिथि लायन्स लिडर धर्मराज श्रेष्ठले भने, ‘सेवा भावले मानिसलाई युवा बनाउँछ । सबै क्लब र सदस्यहरु एकजुट भई सेवा भावमा अझै लाग्नुपर्छ ।’
उमेरले सात दशक पार गरेतापनि युवाझै लायन्स क्लबमा सक्रिय भइ हरेक कार्यक्रममा लागिरहने लायन्सका पिता भनेर समेत चिनिने श्रेष्ठले बैठकलाई सम्बोधन गर्दै भने, ‘धन सम्पतिले खुशी दिदैन तर सामाजिक सेवा जति गर्याे त्यति सुख प्राप्त हुन्छ । यसैले अबको युवा पुस्ता सेवा भावमा अझै लाग्नुपर्दछ ।’
बैठकमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ नवराज न्यौपानेले सामाजिक क्षेत्रमा लायन्सहरुको योगदान महत्वपूर्ण रहेको बताए । सो अवसरमा हेड–इभालुएसन टिम विनोद खरेलले क्लबहरुको गतिविधि प्रशंसनीय रहेको बताए ।
जोनका अध्यक्ष संगम न्यौपानेले सबै क्लबलाई मिलाएर ठोस र देखिने गरी काम गर्ने बताए । बैठकमा मल्टिपल डिष्ट्रिकमा संस्थापक सदस्य ६५ जना रहेको अहिलेसम्मको एक मात्र क्लब लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी भएको भन्दै उच्च प्रशंसा गरिएको थियो ।
जोन ७४ अन्तर्गतका लायन्स क्लब अफ भैरहवा ग्रिन सिटी, लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी, लायन्स क्लब अफ भैरहवा, लायन्स क्लब अफ सिद्धार्थनगर मिडटाउन कोटिहवा र लायन्स क्लब अफ भलवारी सिटीका अध्यक्ष, सचिव तथा कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जोनको दोस्रो बैठक लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको आतिथ्यतामा भैरहवामा सम्पन्न भएको ग्रिनसिटीका प्रथम उपाध्यक्ष गोबिन्द प्रसाद गिरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij