भैरहवा, २८ माघ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा माघ २८ शनिबारदेखि भैरहवामा नेपाल टेलिकम रुपन्देही सुपर लिग–२०७९ ( क्रिकेट प्रतियोगिता) हुने भएको छ । प्रतियोगिता चैत २ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए ।
संघले शुक्रवार लुम्बिनी प्रेस क्लब, रुपन्देहीको कार्यालयमा पत्रकार सम्मेलको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टीमको सहभागीता रहने थापाले जानकारी दिए ।
अध्यक्ष थापाकाअनुसार सुरु मा बी डिभिजनका टीमबीच खेल हुनेछ । बी डिभिजनबाट ४ टिम ए डिभिजनमा प्रवेश गर्ने उनले बताए । अन्तिम लिगमा १२ टीमबीच सुपर लिग हुने थापाले जानकारी दिए ।
प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्ने संघले जनाएको छ ।
प्रतियोगितामा म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ, बेस्ट ब्याटर, बेस्ट बलर र उदयमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक दिनका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने संघका सचिव तथा प्रवक्ता संजय गुरुङले जनाए ।
संघले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सहकार्य गरेर प्रतियोगिता अवधिभर खेलाडी, कार्यसमिति तथा अफिसियलको १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरेको प्रतियोगिताका संयोजक धिरज अधिकारी क्षेत्रीले बताए ।
प्रतियोगिताको प्रमुख प्रायोजक नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका, रुपन्देही रहेको छ ।
प्रतियोगिताको विजेता पुरस्कार रकम १ लाख रुपैयाँ एभरेष्ट कत्था मिल तथा उपविजेता पुरस्कार रकम रु ५० हजार रुपैयाँ रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्स, भैरहवाका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले प्रायोजन गरेका छन् ।
प्रतियोगितामा ए डिभिजनतर्फ सहभागी हुने टिममा वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यू होराइजन क्रिकेट क्लब बुटवल, लुम्बिनी खुकुरी क्लब बेलहिया, तिलोत्तमा क्रिकेट क्लब, मणिग्राम, एक्स्पर्ट जीआर बेलबास, तिरुपति क्रिकेट क्लब भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा र बुद्ध क्रिकेट क्लब भैरहवा रहेका छन् ।
त्यस्तै बी डिभिजनबाट नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिल, शंकरनगर क्रिकेट क्लब शंकरनगर, गोलपार्क क्रिकेट क्लब बुटवल, बुटवल युथ क्रिकेट क्लब बुटवल, साई ग्लोबल एकेडेमी भैरहवा, लुम्बिनी शाक्यान क्रिकेट क्लब लुम्बिनी, प्रोफेसनल मास्टर्स ११, भैरहवा, स्टार क्रिकेट क्लब पडसरी, सैनामैना क्रिकेट क्लब सेनामैना, बुटवल ११, बुटवल राइनोज, बुटवल र देवदह क्रिकेट युनिट देवदह सहभागी हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् ।