
सोमवार , पौष १३, २०७७
काठमाडौं, १३ पुस ।
नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले नेपालको समग्र विकास र भविष्यका लागि एमसीसी पास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा मन्त्री रायमाझीले उर्जा क्षेत्रको प्रबर्द्धन र विकासका लागि एमसीसीको लगानी आवश्यक रहेको उल्लेख गर्दै एमसीसीमा अनावश्यक विरोध भएको भन्दै टिप्पणी गरेका छन् ।
मुलुक विषम परिस्थितिमा रहेका बेला आँफूले जिम्मेवारी सम्हालेको बताउँदै मन्त्री रायमाझीले मुलुकलाई अराजकतातर्फ जान नदिने प्रतिवद्दता व्यक्त गरेका छन् । मन्त्री रायमाझीले संसद विघटन भएपछि निर्वाचनमा मुलुक गइरहेका बेला निर्वाचन र मन्त्रालयको नियमित काम दुवै आफ्नो प्राथमिकतामा रहेको पनि बताए । उर्जा क्षेत्रमा ठूलो सम्भावना रहेको भए पनि पूर्वाधार विकास गर्न नसक्दा यसबाट लाभ लिन नसकिएको भन्दै नवनियुक्त मन्त्री रायमाझीले सरकारले पुर्वाधार बिकासमा ध्यान केन्द्रित गर्नु आवश्यकता औंल्याए ।
तत्कालिन मन्त्री वर्षमान पुनले राजीनामा दिएर प्रचण्ड-नेपाल समुहमा आवद्ध भएपछि प्रधानमन्त्री ओलीले रिक्त रहेको सो मन्त्रालयको जिम्मेवारी रायमाझीलाई प्रदान गरेका हुन् ।
यसअघि पनि पटकपटक मन्त्री भएका तथा पुर्व माओवादी नेता रायमाझीले गत संसदीय निर्वाचनमा लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाबाट निर्वाचित भएका थिए । लामो समयसम्म प्रचण्ड नेतृत्वको माओवादीमा रहँदा उनी खासगरी डा. बाबुराम भट्टराईका विश्वास पात्र मानिन्थे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij