बुटवल, २९ माघ ।
पूर्व क्रिकेटर शक्ति गौचनले आफनो स्वर्गीय बुवा खड्ग प्रसाद गौचनको स्मृतिमा पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएका छन । फागुन १ गतेदेखि देवदह क्रिकेट मैदानमा हुने खड्ग प्रसाद गौचन स्मृति पाँचौ संस्करणको राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी क्रिकेटर गौचनले बताएका छन् ।
यसवर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, मदन भण्डारी स्पोर्टस एकेडेमी (प्रदेश टीम), न्यू होराईजन स्पोर्टस क्लब, धनगढी क्रिकेट एकेडेमीलाई २ समूहमा राखेर ८ टीमबीच खेल हुनेछ । लिग आधारमा हुने खेलमा २ समूहबीच ३–३ गरी कुल १५ खेल हुनेछ । प्रतियोगिताको लिग खेलहरु २५ ओभरको हुनेछन् भने फाइनल खेल ४० ओभरको खेलाइने उनले बताए ।
क्रिकेटको विकासमा ग्रासरुटसँगै खेल पूर्वाधार महत्वपूर्ण हुने शक्ति गौचन बताउँछन । जिल्लामा विभिन्न उमेर समूहलाई समेटेर एउटा खेलाडीले कम्तीमा १० वटा लिग खेल्न पाउने गरी प्रतियोगिताहरु गरिरहेका छन् । जुनियर क्रिकेट विकास हुने जिल्लाका रुपमा रुपन्देहीको पहिचान बनाएको भन्दै खेलको निरन्तरमा लागेको उनको भनाइ छ । पाँचौ संस्करणमा पुरस्कार राशी ३० हजार रुपैयाँ रहेको छ । फाइनल खेल फागुन ११ गते सिद्धार्थनगर क्रिकेट रंगशालामा हुने उनले बताए । देवदह क्रिकेट मैदान शितलनगरमा सोमबार उद्घाटन खेल देवदह क्रिकेट युनिट र काशी नोबल एकेडेमीबीच खेल हुनेछ ।