
सोमवार , फाल्गुण १, २०७९
भैरहवा, १ फागुन ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन् । उनले १० गतेभित्र अध्यारोमा आएर नभइ दिउँसो उज्योलोमा आएर भत्काउने प्रयत्न रहने बताए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार तिलोत्तमा–१५ स्थित कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको नेकपा एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने बताएका हुन् ।
महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्याण्डेटविपरीत बनेको वर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गरे । उनले निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचन पछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैराश्यता छाएको उल्लेख गर्दै जनताको म्याण्डेटअनुसार सत्ता गठबन्धन अगाडि बढ्नुपर्नेमा जोड दिए ।
चुनाव भन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाइै नभए पनि व्यवहारमा उच्च राजनैतिक सस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाइ छ । नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दावी गरे ।
फागुन २५ गते नेपाली कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने दावी गरे ।
उनले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने जिकिर गरे । उनले एमाले अध्यक्ष केपी ओलीले भनेको व्यक्ति राष्ट्रपति भए सिंहदरवारबाटै शितल निवासको लेटरप्याड र रवर स्ट्याम्पले राष्ट्रपतिको काम हुने भन्दै देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने उल्लेख गरे ।
पूर्वमन्त्री समेत रहेका नेता थापाले लोकतन्त्र र संविधानको रक्षा तथा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि कांग्रेसको विकल्प नभएको दावी गरे । पार्टीभित्र केही मतभेद रहे पनि त्यसलाई पार्टीमा बसेर समाधान गर्ने बताए । उनले वर्तमान समयमा देखिएको आर्थिक लगायतका समस्या समाधानका लागि पनि नेपाली कांग्रेस पार्टी लागिपरेको बताउदै जनतालाई आशावादी हुन आग्रह गरे । कांग्रेस नेतृत्वको गठबन्धनले भोट माग्दा नागरिकसँग गरेका वाचा र प्रतिबद्धतालाई पूरा गर्ने दायित्वबाट पछि नहट्ने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij