
सोमवार , पौष १३, २०७७
बुटवल, १३ पुस ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले संसदीय व्यवस्था लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै यसको खवरदारीका लागि जवाफदेहितासहितको प्रतिपक्ष आवश्यक हुने बताएका छन् । मुलुकमा विरोधका लागि विरोध गर्ने प्रवृत्ति मौलाएको भन्दै यसले सही निकास दिन नसक्ने उनले बताए ।
निर्वाचन पर्यवेक्षण समिति काठमाण्डौंको आयोजना र दैनिक लुम्बिनीको सहकार्यमा सोमबार बुटवलमा भएको लोकतन्त्र सशक्तिकरणका लागि संसदीय शासन प्रणाली र प्रतिपक्षको भूमिका विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री गिरीले जो सुकै प्रतिपक्ष भएपछि पुरानो प्रवृतिमा सुधार गर्नुपर्ने बताए ।
सत्ता निरंकुश हुने डर रहिरहने भएकै कारण संसदीय व्यवस्थामा प्रतिपक्षको कल्पना गरिएको उनले बताए । तर त्यो प्रतिपक्ष विरोधका लागि विरोध गर्ने मात्रै नभई विकल्पसहितका सुझाव दिने हुनुपर्ने बताए । ‘सत्ताले ल्याएका योजनामा असहमति हुँदा प्रतिपक्षले विकल्पसहित आउनुपर्छ, तब मात्रै नीति कार्यान्वयनमा सकारात्मक परिणाम आउछ, उनले भने,–तर हाम्रो मुलुकमा त्यसो हुन सकिरहेको छैन ।
आफ्नै सत्ताको विरोध गरेर सरकार गिराउने प्रवृति देखिनु गलत रहेको बताँउदै यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए । संसदीय व्यवस्थामा अस्थिरता वा निरंकुशता हुन लागे जनतामा मत लिन जानुको विकल्प नभएको उनको भनाइ छ ।
त्यस्तै लुम्बिनी प्रदेशसभाको संसदीय समितिका सभापति दधिराम न्यौपानेले सत्ता पक्ष र प्रतिपक्षमा लोकतान्त्रिक सचेतनाको जरुरी रहेको बताए । जो सुकै नेता सत्तामा गए पनि सामन्तवाद प्रवृत्ति देखाउने गरेको प्रसंग उल्येख गर्दै उनले अब हरेकको चित्तबाट नै सामन्तवाद हटाउनुपर्ने बताए । ‘मान्छे मन्त्री हुनासाथ सर्वसत्ताबादको हाबी हुने रहेछ, यसको अन्त्य हुनुपर्छ, उनले भने ।’ सरकारले गर्ने गलत प्रक्रियाको विरोध प्रतिपक्षले गर्नुपर्ने र सकारात्मक काममा सहयोग समेत गर्नुपर्ने उनले बताए ।
लुम्बिनी प्रदेशसभा सांसद रमा अर्यालले सत्तामा बस्नासाथ राजाप्रवृत्ति हावी देखिनु नै गलत भएको बताइन् । प्रतिपक्ष कमजोर हँुदा सत्ता निरंकुश हुने गरेको उनको भनाइ छ । अहिलेको संकट पनि सोही प्रवृतिका कारण भएको उनले बताइन् ।
कांग्रेसका महासमिति सदस्य युवराज गिरीले शासन व्यवस्थाप्रति इमान्दार भए समस्या समाधान हुने बताए । वर्तमान अवस्थामा सत्तारुढ दलले नै प्रतिपक्षको अधिकार खोसेको उनको भनाइ छ । उनले संविधानमा प्रधानमन्त्रीय प्रणालीलाई संकुचन गरेको अनुभूति भएको उनले बताए ।
मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले सत्ता र प्रतिपक्ष दुवै आफ्नो जिम्मेवारीबाट चुक्दा लोकतन्त्रको चिरहरण भइरहेको बताए । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मनिकर कार्कीले जनप्रतिनिधिमा लोकतन्त्रणप्रतिको आस्था कमजोर रहेको बताए । व्यवस्था प्रति नै अविश्वास गर्ने दलहरु लोकतान्त्रिक हुन नसकेको उनको भनाई छ ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय प्रमुख सम्झना शर्माले सरकारले मानव अधिकार संरक्षणको जिम्मेवारी पुरा गर्नुपर्ने बताउदै यसमा प्रतिपक्ष समन्वय हुनुपर्ने बताइन् । राष्ट्रिय जनमोर्चाका रुपन्देही सल्लाहकार पदम श्रेष्ठले सत्ता र विपक्षीहरुमा नैतिकता र इमान्दारिताको अभाव देखिएको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले वर्तमान समयमा मिडियाबाहेक अरु कोही प्रतिपक्ष नदेखिएको बताए । प्रतिपक्ष स्वार्थमा सत्तासंग जोडिने प्रवृति देखिएको उनले बताए ।
सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पर्यवेक्षण समितिका सदस्य राजाराम वर्ताैलाले सत्ता जहिले पनि निरंकुश हुने र त्यसलाई रोक्ने भूमिका प्रतिपक्षको रहने बताए । दुवै पक्षमा जनता सार्वभौम हुन भन्ने कर्तव्यवोध हुनुपर्ने उनको भनाइ छ ।
सिद्धार्थ पब्लिकेशन प्रा.लि. एवं दैनिक लुम्बिनीका अध्यक्ष मोहन चापागाईंले संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुने प्रवृति पुरानै रहेको बताए । प्रतिपक्ष भन्दा सत्तापक्षका समूह नै प्रतिपक्षको भूमिकामा देखिदा सरकारले काम गर्न नसक्ने प्रवृत्ति मौलाउँदै गएको उनले बताए ।
पर्यवेक्षण समितिका अध्यक्ष बद्रीप्रसाद सिलवालको अध्यक्षता, दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जिसीको स्वागत र यज्ञ अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij