२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिद्धार्थनगर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि रुपन्देही लीलारामलाई

सोमवार , फाल्गुण ८, २०७९

भैरहवा, ८ फागुन ।

रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाद्वारा आयोजित नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयले जितेको छ ।

पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको विभिन्न खेलमा ९ स्वर्ण, ९ रजत र ७ काश्य गरी कुल २५ पदक प्राप्तीसँगै लिलारामले राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको रुपन्देही जिल्ला खेलकुद विकास समितिका मुख्य प्रशिक्षक उमेश थापाले बताए ।

उनकाअनुसार साई ग्लोबल माध्यमिक विद्यालयले ५ स्वर्ण, ४ रजत , २ काश्य गरी कुल ११ पदकको प्राप्त गरी द्वितीय र ३ स्वर्ण, ३ रजत र ५ काश्य गरी कुल ११ पदकसहित जेसीज माध्यमिक विद्यालय तृतीय भएको छ ।

समापन समारोहमा विजेताहरुलाई स्वर्ण, रजत र काश्य पदक सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले प्रदान गरेका थिए । सोही अवसरमा दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगितामा सिद्धार्थनगर नगरपालिकाको कार्यालय द्वितस्य भएकोमा खेलमा सहभागी कर्मचारी खेलाडी र व्यवस्थापकलाई पनि नगरपालिकाको कार्यालयले सम्मान गरेको छ ।

त्यस्तै मलेसियामा सञ्चालित सरावाक बोर्नियो कप इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको पुरुषतर्फ ८० र ८७ के.जी तौल समूह माथिको खेलमा स्वर्ण पदक प्राप्त सिद्धार्थनगर वडा नम्बर ८ का खेलाडीद्वय अभिषेक बराल र आशुतोष बराललाई प्रशंसापत्रसहित सम्मान गरिएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खानले सिद्धार्थनगर खेलाडीको उर्वरभूमि रहेको भन्दै आफूहरुले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको र गर्दै जाने बताए । उनले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकोले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए ।

उनले सेवासुविधाको अभावमा खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट खेल प्रदर्शन गरी राज्यको सम्मान अभिवृद्धि गर्नमा सहयोग पुर्याउँदै आए पनि राज्यले चाहे जति गर्न नसके पनि आफुहरुले सकेसम्म सहयोग गर्ने बताए ।

नगर उपप्रमुख उमा अधिकारीले प्रत्येक विद्यालयले खेलकुद प्रशिक्षक र खेलकुद कक्षा सञ्चालन गर्नुपर्ने बताउँदै सुधारका कार्यहरु विद्यालयले आफैबाट सुरु गर्नुपर्ने बताइन् । उनले खेलाडी माथि राजनीति गर्न नहुने भन्दै आफूहरुले माया गर्ने गरेको बताइन् । ‘विद्यालय आफूले गर्नुपर्ने कर्तव्य पुरा गरेर सुरुवात गरोस्, हामीले के गर्नुपर्ने हो त्यो गर्न तयार छौँ’ उनले भनिन् । 

प्रतियोगितामा छात्र–छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल भएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयले बताइन् । उनकाअनुसार एथलेटिक्स अन्र्तगत छात्र र छात्रा तर्फ १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय, ३ हजार मिटर दौड साथै ४ गुणे १ सय, ४ गुणे ४ सय मिटर रिले दौड भएका थिए ।

त्यस्तै छात्रा र छात्रातर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल प्रतियोगिता सम्पन्न भएको थियो । त्यस्तै मार्शल आर्ट अन्र्तगत तेक्वान्दो खेलको छात्रातर्फ ४२ के.जी तौल समूह मुनी, ४४ के.जी मुनी, ४६ के.जी मुनी र छात्रतर्फ ४५ के.जी, ४८ के.जी, ५१ के.जी तौल समूह मुनी खेल भएको थियो । सो अवसरमा प्रदर्शनको रुपमा कराँते खेल समेत भएको थियो ।