
मंगलवार , पौष १४, २०७७
भैरहवा, १४ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगरले सि.न.पा.–५ स्थित भैरहवा नमुना माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । क्लबले विद्यालयलाई डेस्क, बेञ्च र पंखा प्रदान गरेको हो । विद्यालयलाई मंगलबार फाइबर बेञ्च–डेस्क १५ थान, पोडिएम ३ थान, सेतोपाटी (वाइटबोर्ड) ४ थान, पंखा ३२ थान, फाइबर डस्टबीन ३ थान गरी २ लाख ५० हजारको सामग्री प्रदान गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष एमजेएफ नेत्र प्रसाद आचार्यले बताए ।
कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठले लायन्स क्लब अफ सिद्धार्थनगरले विद्यालयलाई सहयोग गर्ने कार्य प्रशसंनीय रहेको बताए । उनले भैरहवा नमुना मा.वि.मा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि २ लाख २२ हजार २ सय २२ रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो क्षमताले भ्याएसम्म विद्यालयलाई सहयोग गर्ने श्रेष्ठले बताए ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले नेत्र प्रसाद आचार्य नेतृत्वको लायन्स क्लब अफ सिद्धार्थनगरले विभिन्न रचनात्मक कार्य गरेको बताए । उनले समाजमा बसेपछि समाजको लागि योगदान दिन सक्नुपर्ने बताए ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ एमजेएफ महेशचन्द थापाले विगतका दिनमा पनि क्लबले विद्यालयलाई सहयोग गर्दै आएको र निरन्तरता दिनुपर्ने बताए । भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद अग्रवालले सबैको सामूहिक सहयोगले विद्यालयको मुहार फेरिदै जाने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष दिपक क्षेत्री न्यौपानेले कोभिड–१९ को समयमा क्लबले पुनित कार्य गरेको बताए ।
भैरहवा नमुना मा.वि. व्यवस्थापन समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ताले लायन्स क्लब अफ सिद्धार्थनगरले विद्यालयलाई सहयोग गर्नु प्रशंसनीय कार्य रहेको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष एमजेएफ नेत्र प्रसाद आचार्यको अध्यक्षता, कार्यक्रम संयोजक खगेन्द्र शर्माको स्वागत, कमल ज्ञवालीको ध्वजा अभिवादन तथा सचिव अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij