२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

एमालेले रुपन्देहीमा सुरु गर्‍यो मिसन ग्रासरुट अभियान

मंगलवार , फाल्गुण ९, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल, ९ फागुन । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रुपन्देहीले ‘मिसन ग्रासरुट’ अभियान मंगलबारदेखि सुरु गरेको छ । एमाले जिल्ला कमिटी रुपन्देहीले मिसन ग्रासरुट अभियानको पहिलो कार्यक्रम अन्तर्गत मंगलबार कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक अभिमुखीकरण गरेको छ ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश कमिटी इञ्चार्ज छविलाल विश्वकर्माले प्रशिक्षण दिंदै वडा र टोलसम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिए । पार्टीको १० औं महाधिवेशनले पारित गरेका दस्तावेज र निर्णयहरु तल्लो तहका कार्यकर्तामाझ पुयाउँंदै दक्षिणपन्थी विर्सजनवाद र संगठनात्मक अराजकताको अन्त्य गर्न पनि ग्रासरुट अभियान प्रभावकारी हुने सचिव विकले बताए । 

    संविधानसभाबाट बनेको संविधानले व्यवस्था गरेका उपलब्धीहरुको पक्षमा पार्टी प्रतिवद्ध रहेको भन्दै विश्वकर्माले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध उठाइएका आवाज र भ्रमको पछि नलाग्न निर्देशन दिए । 

    कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री बैजनाथ चौधरीले स्थानीय तहका जनप्रतिनिधिहरु र नेताहरुबीच समन्वयको अभाव र असमझदारी बढेकोले यसलाई तत्काल समाधान गर्नुपर्ने बताए । उनले पार्टी नेता कार्यकर्तालाई बैचारिक खुराकको कमी भएको, शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न नसकिएकाले यसतर्फ पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने पनि औंल्याए ।  

    कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहकार समितिका सदस्य गोपाल भट्टराई, पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरे, उपसचिव एवं प्रचार विभाग प्रमुख हितराज पन्थी लगायतले ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पुर्याउने भएकाले सबैको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए । २ महिने अभियानमा पोलिटब्युरो र केन्द्रीय कमिटीका ७ जना नेता १६ वटा पालिकामा खटिनेछन् । 

    अभियान अन्तर्गत मंगलबारको कार्यक्रममा जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनका जिल्ला अध्यक्षहरुलाई अभिमुखीकरण गरिएको थियो ।

    ग्रासरुट अभियान अन्तर्गत अब सम्पूर्ण जिल्ला कमिटीका भेला, बैठक र प्रशिक्षण सञ्चालन हुनेछन् । सम्पूर्ण पालिकाहरुमा भेला, बैठक र प्रशिक्षण सञ्चालन गरिने एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।