
मंगलवार , फाल्गुण ९, २०७९
भैरहवा, ९ फागुन ।
आगामी फागुन २३ गतेदेखि ऐतिहासिक बुद्धस्थल सगरहवामा गरिने कपिलवस्तु राष्ट्रिय मूर्तीकार्यशालालाई प्रभावकारी बनाउन तयारी थालिएको छ । लुम्बिनी विकास कोषले प्रस्तर मूर्तीकार्यशालाका लागि सगरहवाको ऐतिहासिक र बुद्धजीवनीसँग जोडेर विषयस्तुको छनौट गर्न विज्ञ समूहसँग छलफल गरेको छ ।
बुद्ध जीवनसँग जोडेर सगरहवाको कथालाई प्रस्तर (ढुंगा) मा उजागर गर्ने गरि ‘थिम’ निर्माण गर्नुपर्ने विज्ञहरुको निष्कर्ष छ । लुम्बिनी विकास कोषमा बसेको विज्ञ समूहको बैठकले मूर्ती निर्माणका लागि सगरहवाको थिम निर्माण गरी अन्य व्यवस्थापकीय कामहरु सम्पन्न गर्ने निर्णय गरेको छ । मूर्तीकार छनौट गर्ने, मूर्ती कार्यशालाको स्थलका लागि पुरातात्व विभाग र स्थानीय सरकारसँग समन्वयन गर्ने, कार्यशालाको लोगो निर्माण गर्ने निर्णय गरेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।
त्यस्तै कार्यशालाको आवश्यक निर्णयका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यकारिणी सदस्य नरेशप्रसाद कोहार, परिषद सदस्य गोपिकृष्ण शर्मा, विज्ञ समितिका संयोजक पोमनारायण पौडेल, पर्यटन विकास परिषदका निर्देशक रामु जोशी र कोष तिलौराकोट प्रमुख माधव प्रसाद आचार्य सदस्य सचिव रहने गरी सचिवालय गठन गरेको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ मा रहेको सहगरहवालाई केन्द्रमा राखेर प्रस्तर मूर्तीकार्यशाला हुने भएको हो । आगामी फागुन १५ गते सचिवालय बैठक बस्ने कोषका तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्यले बताए ।
बैठकमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य रामनरेश प्रसाद कोहार, परिषद सदस्य गोपीकृष्ण शर्मा, विज्ञ समितिका संयोजक पोम नारायण पौडेल, डम्बर शर्मा, गुणाखर गैरे, चर्तुजुज पाण्डे, डा. गिरी पन्थी, युवराज केसी, विजय क्षेत्री, प्राज्ञ गोविन्द चौधरी, प्राज्ञ यम थापा, पत्रकार मनोज पौडेल, पत्रकार नरेश केसी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij