२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

देवदहमा थप उत्खनन् नहुँदा महत्वपूर्ण प्राचिन सम्पदा अलपत्र

बुधवार , पौष १५, २०७७

देवदह, १५ पुस । 
राज्यको प्रयाप्त ध्यान नपुग्दा ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं सांस्कृतिक महत्वको प्रसिद्ध क्षेत्र भएर पनि रुपन्देहीको देवदह अझै ओझेलमा परेको छ । यहाँ रहेका पुरातात्विक स्थलहरु प्रयाप्त मात्रामा उत्खनन् संरक्षण र बिकासको अभावमा प्राचिन देवदह र केरवानी क्षेत्रका बुद्धकालिन महत्वपुर्ण सम्पदाहरु अलपत्र अवस्थामा छन । उत्खनन्का बेला भेटिएका सामाग्रीहरुका अनुसार रुपन्देहीको देवदह, भवानीपुर र पंडितपुर क्षेत्र बुद्धकालिन शहर देवदहका भग्नावशेष स्थलहरु हुन । 

प्राचीन कोलिय गणराज्यका राजधानीका रुपमा रहेको देवदह र आसपासका क्षेत्रहरु उचित व्यवस्थापनको अभावमा अलपत्र अवस्थामा छन भने कतिपय पुरातात्विक महत्वका वस्तुहरु यत्रतत्र छरपष्ट अवस्थामा भेटिन्छन । सरकार र स्थानीय तहले समयमै ध्यान नपुर्याउँदा पुरातात्विक महत्वका क्षेत्रहरु अतिक्रमणको चपेटामा पनि परेका छन । पुरातात्विक हिसाबले महत्वपूर्ण मानिने देवदह क्षेत्रमा अनियन्त्रित रुपले जग्गा प्लटिङ्गको कार्य भइहेको भए पनि त्यसको नियन्त्रणतर्फ कसैको ध्यान पुगेको छैन ।

हिजोआज तीव्र रुपमा भइरहेको मानवीय अतिक्रमण र अनियन्त्रित प्लटिङ्गका कारण पुरातात्विक महत्वका कतिपय सामाग्रीहरु नष्ट हुने अवस्थामा छन । कतिपय महत्वपूर्ण सामाग्रीहरु लोप भइसकेका छन भने कतिपय लोप हुने खतरामा छन् । तर सरोकारवाला निकाय किन मौन छन, यसको उत्तर कतै भेटिंदैन । लुम्बिनी विकास कोषले बुद्धकालिन महत्वको स्थल भए पनि आफ्नो कार्यक्षेत्र भित्र नपर्ने भएकोले ध्यान पुर्याएको छैन । आफ्नो कार्यक्षेत्र नभए पनि बुद्धकालिन भग्नावशेष फेला परेको क्षेत्र भएकोले कोषको तर्फबाट सक्दो सहयोग पुर्याउने कार्य भइरहेको भने कोषले जनाएको छ । 

देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले बुद्धसँग सम्बन्धित भएकाले लुम्बिनी विकास कोषले देवदहको विकासको लागि आवश्यक भुमिका खेल्नुपर्ने बताएका छन् । नगरप्रमुख केसीका अनुसार लुम्बिनी र तिलौराकोट जत्तिकै महत्व बोकेको स्थान भए पनि देवदह क्षेत्रले महत्व नपाएको अवस्था हो । यसका लागि स्थानीयले पटक पटक आवाज उठाएका छन तर सम्बन्धित निकायको ध्यान प्रयाप्त मात्रामा नपुगेकोले निजी क्षेत्रबाट यसको प्रचारप्रसार र सरोकारवाला निकायलाई झकझकाउने काम भइरहेको छ । लुम्बिनी विकास कोष जस्तै सुविधा र अधिकारसम्पन्न देवदह विकास कोषको गठन गरिनुपर्ने माग नगरप्रमुख केसीको छ ।
प्राचिन देवदह र भवानीपुरका स्थानीयका अनुसार भगवान गौतमबुद्धको मावली अर्थात बुद्धमाता मायादेवीको जन्मस्थल देवदह र केरवानीस्थित भवानीपुरमा विगत लामो समयदेखि उत्खनन कार्य हुन सकेको छैन । विगतमा देवदहको संरक्षण र विकास गरी यसको ऐतिहासिक एवं पुरातात्विक महत्वको पहिचान गराउने उद्देश्यले पहिलो पल्ट उत्खनन कार्य अगाडी बढाइएको भए पनि लामो समय यता निरन्तरता पाउन सकेको छैन ।

पुरातत्व विभागका अनुसार लुम्बिनी र भगवान गौतमबुद्धको जीवनसंग सम्बन्धित स्थानहरुको खोजी र प्रमाणित गरी ऐतिहासिक एवं पुरातात्विक महत्व उजागर गर्ने पर्यटन प्रबद्र्धन गर्न सघाउ पुर्याउने उद्येश्यले सो क्षेत्रमा उत्खनन कार्यको थालनी गरिएको थियो । भवानीपुर र कन्यामाई क्षेत्रमा उत्खनन्का क्रममा बुद्धकालीन ढुँगाका मुर्ति, भाँडाकुँडा र अवषेशहरु फेला परेको तथा ती वस्तुहरु ऐतिहासिक एवं पुरातात्विक महत्वका भएको पुरातत्वविद् प्रकाश दर्नालले बताए । पुरातत्वविद् दर्नालका अनुसार पुरातत्व विभाग र लुम्बिनी विकास कोषको संयुक्त पहलमा तत्कालिन अवस्थामा गरिएको सो उत्खनन कार्यका लागि रु. ५ लाख बजेट निकासा गरिएको थियो । त्यसपछि बजेटको अभावमा यसक्षेत्रमा थप उत्खनन् हुन नसकेको हो । तत्कालिन देवदह गाविसस्थित कन्यामाई मन्दिर र केरवानीस्थित भवानीपुर परिसरमा रहेको भग्नावषेश उत्खनन कार्यको प्रारम्भिक चरण पुराभएपछि त्यसको प्रमाणीकरण भएको र यसबाट देवदहको महत्व अझ बढेको पुरातत्व विभागले जनाएको छ ।

तर यहाँस्थित अर्को पुरातात्विक महत्वको भग्नावशेष स्थल बैरीमाई, खयरडाँडा, घोडाह, लगाएतका स्थानमा भने एक पटक पनि उत्खनन्को कार्य हुन सकेको छैन । लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह बुद्धकालीन शहरहरु भएको यी स्थानहरुको समानुपातिक रुपले उत्खनन, संरक्षण र समुचित बिकास हुनुपर्ने धारणा स्थानीय बासिन्दाको छ । देवदह डेभलपमेन्ट सोसाइटीका अध्यक्ष भिम गुरुङ्गका अनुसार देवदहमा कन्यामाइ, बैरिमाई, भवानीपुर, खयरडाँडा, पाँकरी, लगाएत झण्डै १ दर्जन ऐतिहासिक, धामिृक, सांस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेका छन । राज्यले प्रयाप्त ध्यान नदिँदा यी महत्वपुर्ण सम्पदाहरुको उत्खनन्, उचित संरक्षण र विकास हुन नसकेको गुरुङ्गको भनाइ छ ।

देवदहको संरक्षण र विकासबाट यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्नुका साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा पनि टेवा पुग्ने धारणा स्थानीय बुद्धिजिवीले ब्यक्त गरेका छन् । स्थानीयको लामो समयको प्रयासपछि केही मात्रामा भए पनि अनुसन्धान, उत्खनन् र संरक्षणको काम थालनी भएको भए पनि त्यो पनि अलपत्र छ । देवदह उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका स्थानीय गोपाल ढकाल भन्छन–यहाँको उचित विकासका लागि हामी सबैको प्रयत्न जरुरी छ । यहाँको विकासका लागि थप प्रभावकारी भुमिका संचार जगतको हुने भएकोले आवश्यक दवाव सिर्जना गर्ने खालका समाचार सम्प्रेषण गर्न अध्यक्ष ढकालले आग्रह गरेका छन् ।