
आइतवार , फाल्गुण १४, २०७९
काठमाडौं, १४ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो बचनमा प्रधानमन्त्री पुष्पकमल प्रचण्ड पक्का नरहँदा राजनीतिक अस्थिरता बढेको बताएका छन । राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले वचन फेर्ने पुरानो बानी नसुध्रिएको पनि आरोप लगाए ।
‘प्रचण्डजी एकथरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै । उहाँसँग अस्ती भएको भेटमा मलाई भन्नुभयो– दुई महिना गाह्रो भयो है । नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिन त सक्दिन, कतिञ्जेल रोक्ने ?’ ओलीले प्रचण्डको व्यवहारप्रति कटाक्ष गर्दै भने ।
माओवादी अध्यक्ष प्रचण्ड धोका दिने मान्छे भनेर आफूले पहिलादेखि नै चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुध्रिएको आरोप लगाए । ‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नुपर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ । एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ । प्रचण्डमा यही स्वभाव हावी छ । जता पाइन्छ उहाँ ढल्कि हाल्नुहुन्छ’ ओलीले भने । उनका अनुसार १० पुसमा भएको सहमति तोडेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन खोजेको बताउँदै ओलीले २५ फागुनसम्म सहमतिमा आउन सक्ने भन्दै प्रतिक्षा गरिरहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij