२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

एक घण्टा आरन चलाएर औजार बनाएको ज्याला एक माना चामल 

मंगलवार , फाल्गुण १६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • मुगु, १६ फागुन । खैरो रङको हाफ टिसर्ट । धुवाँ धुलोले मैलो देखिएको अनुहार । आगोको राप अगाडि हातमा हतौडा, अनि जिन्दगीको स्वास फेर्ने पंखा । साथैमा काखमा छोरी । बनाउन बाँकी र बनाइसकेका कुटो, कोदालो, हँसियासहित मुगूम कार्मारोङ्ग गाउँपालिका–८ का आरन पेसा गर्दै आएका ३१ वर्षीय पेमा छिरिङ्ग कामी आफू र आफ्नाे परिवारको जीविकोपार्जनका लागि पसिना बगाइरहेका छन् ।

    उनीजस्तै मुगुका दलित लुहारहरुको परम्परागत आरन व्यवसाय जीविकोपार्जनको लागि मुख्य आयस्राेत बनेको छ । आरन पेसा लोप भइरहेको बेला मुगुमा भने उनीहरूको बिहान बेलुका हातमुख जोड्ने र भइपरी आउने आर्थिक अभाव झेल्ने सहारा बनेको छ । तर, आरन चलाउँदा बगेका पसिनाको मूल्य भने नपाएको उनीहरुको गुनासो छ । 

    मुगुका गरिब, दुःखी र फरक क्षमता भएकाको सहारा आरन पेसा बनेको छ । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरुको भनाइ छ । मुगूम कार्मारोङ्ग गाउँपालिका–८ का पेमा छिरिङ्ग कामी आरन पेसाबाटै आफ्नो घर परिवारको खर्च जोहो गर्दै आइरहेका छन् ।

    आरनबाट हात हतियारदेखि कृषि औजारहरु बनाउने गरिन्छ । तर, पछिल्लो समय सहरका रेडिमेन्ट औजारका कारण स्थानीय आरन व्यावसाय धरासय बन्दै आएको स्थानीयले गुनासो गरेका छन् । अर्काेतिर कामअनुसारको ज्याला पाउन नसकेको पनि उनीहरुले दुखेसाे पाेखे ।  

    एक घण्टा मिहेनत गरेर औजार बनाएर दिँदा १ माना चामल ज्याला पाउने गरेको उनीहरु बताउँछन् ।  उचित ज्याला पाउन नसकेका आरन व्यवसायीहरुमाथि राज्यले पनि बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

    स्थानीय सरकार बनेपछि दुःखका दिन हट्ला भन्ने आशा गरेका मुगुका दलितहरुको समस्या समाधान अझै हुन सकेको छैन । स्थानीय सरकारले उचित ज्याला र सहज बजारको व्यवस्था गरिदिए आरन पेसाकै संरक्षण र आफूहरुको जीविकोपार्जनमा पनि सहज हुने उनीहरुको बताउँछन् ।