
बिहिवार , पौष १६, २०७७
बुटवल, १६ पुस ।
बुटवलमा स्थापित चौतारी रिडर्स क्लबले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोध गरेको छ । क्लबले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको कदमले संविधानको मर्ममाथि प्रहार गर्दै जनताको अभिमतमाथि गम्भिर कुठाराघात गरेको तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यतामाथि नै अतिक्रमण गरेको जनाएको छ ।
प्रधानमन्त्रीको कदमले मुलुकमा राजनीतिक संकट उत्पन्न भएको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ – ‘देशमा राजनीतिक अस्थिरताको श्रृखंलाको सुरुवात गर्दै आम जनजीवनमा नकारात्मक असर पार्ने र सामजिक आर्थिक प्रगति अवरुद्ध भइ जनतामा निराशा छाउने स्पष्ट संकेतहरु देखिसकिएका छन । नेपालको राजनीतिक इतिहासमा यो घटना एउटा पश्चगामी कदमको रुपमा दर्ज हुने निश्चित भएको हाम्रो ठहर छ ।’
त्यसै गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सुरक्षामा लगानी वृद्धि गर्दै संविधानको मर्मअनुरुप सार्वजानिक हितको प्रबद्र्धन र समाजवादी अर्थ–राजनीतिका मुद्दाहरुमा परिणाममुखी पहलकदमी लिनुपर्नेमा सरकार गलत बाटोतिर अग्रसर भएको ठहर गर्दै विघटित प्रतिनिधिसभा पुनःस्थापनाका लागि देशभरी भएका नागरिक आन्दोलनका कार्यक्रमहरुमा ऐक्यवद्धता रहनेसमेत विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा क्लबका संयोजक कुलप्रसाद शर्मा तथा सदस्यहरु अर्जुन गिरी, मनिकर कार्की, नर सुनार, रामचन्द्र श्रेष्ठ, अच्चूत गौतम, प्रेम बहादुर अर्याल, अंमरनाथ पाठक, छन्द पन्थी, सुजन मानन्धर, बिमल गिरी, विपिन पौडेल, कृष्ण पाण्डे, नविन तिवारी, सन्तोष भुसाल लगायतको हस्ताक्षर रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij